लक्ष्मण चौलागाईं विद्रोही
हरेक मुलुकमा व्यवस्था अदलबदल भैरहन्छन त्यस्तै नेपालमा पनि तीन चार व्यवस्थाहरु बदलिएको देखें। व्यवस्था जब बदलिन्छ तब त्यो व्यवस्थाको हकदार सारा जनता हुन्छन् भन्ने विश्वास मैले म जान्ने बुझ्ने भएको बेला देखि नै मनन गर्ने गर्थें। ०५२ साल देखि ०६२ साल सम्म विद्यमान जनयुद्धको सर्वोच्च कमान्ड गर्नुहुने नेकपाका अध्यक्ष प्रचण्डज्यु जसको नामको चर्चा मैले यस अघि नै मिर्मिरे सन्चार डट कमबाट नै गरिसकेको छु। एउटा प्रचण्ड निर्माण गर्न मुलुकले थुप्रै चुनौती र बलिदान गर्नुपर्यो। एक्काइसौं शताब्दीको क्रान्तिको विगुल फुक्ने अभियन्ताको रुपमा मुलुक र जनताले प्रचण्ड उपर धेरै नै विश्वास गरेको थियो।
“दुखी गरिब जनताका सुदिनहरु आउछन र जनताले विकास,निर्माण,सुविधा र सुखको आभाष गर्दछन भन्ने महान विश्वासहरुकै जगमा प्रचण्डले हाइकमान्ड गर्नुभएको जनयुद्धमा जनताका छोराछोरीहरुले बलिभेदी चढेका थिए”
आज मुलुकको व्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन। गाउगाउमा सिंहदरबारको नारा लगाइयो र निर्वाचन पनि भयो सरकार पनि बन्यो तर गाउगाउमा भएका सिंहदरबारले जनतालाई सिंहदरबारको आभाष र अनुभूति गराउनुको सट्टा भ्रष्टाचारगृहको चाहिँ प्रत्याभुती गरायो। दरवारबाट खोसेर ल्याइएको गणतन्त्र महलमा विसर्जन भयो। जनताले एक थान लिखितममा संविधान पायो व्यावहरत: यसको प्रयोग भएको पाइएन। मुलुकमा कम्युनिस्ट राज्यव्यवस्था आइसकेपछी यो पूर्ण मुक्तिको व्यवस्था बन्छ। यसले कोहि उच्च- र निच जाती भन्दै विभेद गर्दैन ।
दुखी गरिब जनताका सुदिनहरु आउछन र जनताले विकास,निर्माण,सुविधा र सुखको आभाष गर्दछन भन्ने महान विश्वासहरुकै जगमा प्रचण्डले हाइकमान्ड गर्नुभएको जनयुद्धमा जनताका छोराछोरीहरुले बलिभेदी चढेका थिए। दस वर्ष सम्म जारी जनयुद्धले १७ हजार नेपाली जनताका छोराछोरीहरुको जीवन निल्यो। कयन चेलीहरुको सिउँदो पुछियो ,कयन कलिला मुनाहरुको घाँटी निमोठियो ,कयन बृद्दहरुको बुढेसकालका सहाराहरुलाई कोहिलाई माओवादीको नाममा त कोहिलाई सुराकी,जासुसी त कोहीलाई सेना र प्रहरीको भएकोमा हत्या गरियो। अनि जनयुद्ध मात्रै काफी भएन सात दलको संयुक्त ऐतिहासिक जनआन्दोलन ०६२/६३ पनि आवश्यक भयो र नारायणहिटि राजदरबार म्युजियममा रुपान्तरण भयो,मुलुकलाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो।
गणतन्त्र आएसी मुलुकले अब काख रित्तिएकाहरुलाई भरोसा,सिउँदो पुछिएकाहरुलाई सुरक्षा र गर्भमा नै टुहुरो भएकाहरुलाई अभिभावकिय भूमिका निर्वाह गर्ला भन्ने आम जनताको आशा थियो। वस्तीवस्तीमा भएका युद्धकालीन घटनाले घायलहरुको गणतन्त्रमा औषधोपचार,बेपत्ताका परिवारलाई सान्त्वना ,मुलुकका अमूल्य युवा उर्जालाई आफ्नै मुलुकमा रोजगारिका सिर्जना ,शिक्षामा परिवर्तन र समानता,स्वास्थ्य आम नागरिकको पहुँचमा र गाँस,बास र कपासको व्यवस्थाका अवस्थाहरु लिएर आउनेछ भन्ने विश्वासकै वजह माओवादको म नजानेकाहरुले जनयुद्धमा आफुलाई बलिदान गरे भने ६२/६३ सालको जन आन्दोलनमा पनि सात दलका तीन करोड जनताले यस्तै विश्वासमा एक्यवद्धता जनाएर मुलुकबाट २३७ वर्षीय राजतन्त्रको विघटन र लोकतान्त्रिक गणतन्त्रको उद्घाटन गरेका थिए नेपाली जनताले।
तर व्यवस्था त बदलियो ,जनताले बोकेका भरोसाका अवस्थाहरु केही पनि बदलिएनन। नागरिकको बाच्न पाउने हक र अधिकार साथै न्याय नै हरण भयो। सिन्धुलीमा शाही सेनाले घाँटी निमोठेर गोली हानेर हत्या गरिएकी निरु दर्लामी कुँवरकी १० वर्षीया छोरी निरन्जना कुँवर हुन या शाही सेनाले हत्या गरेकी काभ्रेकी देवी सुनुवारकि १४ वर्षीया छोरी मैना सुनुवार हुन या गोर्खामा हत्या गरिएका अवोध बालक दिलबहादुर रम्तेल हुन कोहि कसैले गणतन्त्रमा न्याय पाएनन् । बरु गणतन्त्रमा फेरि मारिन विवश भए कैलालीकी माया विक,कंचनपुरकि निर्मला पन्त ,न्यायको माग गर्दै अन्सन बस्दाबस्दै मरेर गए गोर्खा फुजेलका नन्द प्रसाद अधिकारीहरु । न्याय बेखबर भयो।
“मुलुकमा कम्युनिस्ट राज्यव्यवस्था आइसकेपछी यो पूर्ण मुक्तिको व्यवस्था बन्छ। यसले कोहि उच्च- र निच जाती भन्दै विभेद गर्दैन ।”
जनताले न्यायिक राज्यको परिकल्पना गरेको गणतन्त्रमा जनयुद्धका गोर्खा जेल ब्रेकर उमा भुजेल र जनयुद्धका योद्दा कमरेड माहिला लामाहरु बदलिएको वयवस्थाको नबदलिएको अवस्थाको राणा श्री ३ र राजा श्री ५ हरुले बनाएका जिर्णतम जेलमा अपराधी झै अन्धकार र चिसो जेलमा कैद भए। गणतन्त्र साझा व्यवस्था हुन सकेन। जनताको अभिभावकिय सत्ता लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थाको सत्ता हुन सकेन। जनयुद्धमा गोली पिएर पनि बाच्न विवश घाइते संजोग शरिक ,चन्द्रबहादुर विक,रचना ,जमीन लामा,सैन्य यातनाले आधा शरीर मारिएर रिहाई भएका प्रसन्न ,नम्रता लगायत थुप्रै थुप्रै युद्धका घाइतेहरुको लागि गणतन्त्र आएन ।बरु गणतन्त्र नारायणहिटि बाट महलतिर गएर लुक्यो अनि जनताका सपनाहरु चुके ।
आम जनताका भरोसा र आशाका अभियन्ता ,क्रान्तिका अगुवा प्रचण्ड स्वयमले गणतन्त्रमा भाषण गर्दा मेरा दस लाख कार्यकर्ता भन्नमात्रै सके तीन करोड जनता भन्न सकेनन अनि सत्ता र सरकार पार्टीको भयो ।व्यवस्था अगुवाहरुको निजि सम्पत्ती जस्तो भयो। युवा परनिर्भरता बढ्यो। बजार भाउ आकाश छुने गरि महंगियो ।दुई छाक खाने जनताका छोराछोरीले अब एक छाक खाएर जीवन गुजार्नुपर्ने दिन सन्निकट आयो। कृषिप्रधानको गरिमा बोकेको हाम्रो देश नेपाल अब सुपरमार्केट प्रधा बन्यो। रिवनहरु काटिदैछन सुपरमार्केटका अनि शेयर होल्डरहरु अनि नेताहरु भए।
निर्वाचन पूर्व थोरै सम्पत्ती भएका वडा अध्यक्षहरु शहरका घरभेटी बने,मेयरहरु अमेरिकी लाहुरे जस्ता भए भने मन्त्री र प्रधानमन्त्रीहरु विनिद चौधरी जस्तै उद्योगपती बने। यसैले गणतन्त्रमा प्रचण्डका जनता दस लाख कार्यकर्ता मात्र भए। दुई करोड नब्बे लाख जनतालाई प्रचण्डले विर्सिए। अब भन्नुस प्रचण्ड ज्यु मेरा तीन करोड जनता अन्यथा नागरिकहरुले असाध्यै मन दुखाएका छन् । घाइतेहरु विष पिउन विवश अवस्था आइसक्यो। यस्तै थियो जनयुद्धको मर्म र गणतन्त्रको सार्थकता ? प्रश्न अनुत्तरित नै रहयो।