कथा :
लक्ष्मण चौलागाईं विद्रोही
एउटा तथाकथित बाहुन जातको छोरी विक संग पोइल गैछिन् अरे। अनि एक वर्ष पछि छोरो पाइछन् ।अनि बिस्तारै छोरा बढ्दै गयो त्यस्तै ५/६ वर्ष पछिको कुरा। उनको माइत आउजाउ बन्द थियो रे ब्राह्मणवादी समाजमा । भिन्न जाती संग पोइल गएकी भनेर माइतीमा माइतीले कुनै पनि कार्यमा डाक बोलाउ,निमन्त्रणा केही गर्दैन थे अरे। सबै जना मामाघर गएका देखेपछी छोरोले आमा हाम्रो मामाघर हामी पनि जाउँ न भनेछन् । तर माइतीमा उनलाई नि:षेध भएको कारण आमाले जान मानिनछन। एक दिन मामाघरमा श्राध्द थियो रे। मामाघर पनि नजिकै थियो अरे।अनि आमा मामाघर जान नमानेपछी त्यो सानो बाबू आमालाई नभनी भागेर मामाघर गएछन् । मामाले रिस गर्ने भए पनि माइजू ले चाहिँ भान्जालाई माया गर्ने रैछन् ।
अनि मामाघर गएर मामाको डरले त्यो बाबू गोठ पछाडि मलको रास भएको ठाउमा लुकेर बसेछन् । त्यसपछी श्राध्द सकेर मामा चाहिँ पिण्ड सेलाउन गएको बखत माइजूले भान्जा मलको रास भएको ठाउमा लुकेर बसेको देखेपछि अचार,नैवेद्य र खाना टपरीमा लगेर दिइछन भान्जालाई। खादाखादै मामाचाही पिन्ड सेलाएर आएको देखेपछी भान्जा डरले त्यो टपरी मलको रासमा पुरेर भागेछन् । अनि अरु घरका मान्छेले खाएको टपरी पनि सोही मलको रासमा त्यो बाबूले पुरेको भन्दा अलिपर लगेर पुरेछन् । केही दिनपछी त्यो भान्जाले पितृप्रसाद खादाखादैको टपरी पुरेको स्थान झल्झलाकार भएर जगमगाएछ। के रहेछ यस्तो अचम्म भनेर गएर हेर्दा त सुनैसुनले भरिएको टपरी रहेछ अरे। अनि अरुले खाएर फालेको टपरीमा चाहिँ किरैकिरा रहेछ अरे। यसैले पितृकार्य गर्दा भान्जाभान्जीको महत्व धेरै भएको रहेछ।