नवउदारवादी अर्थतन्त्र के हो ?

 जनार्दनबाबु कट्टेल

जनार्दनबाबु कट्टेल

उदारवाद भनेको शाब्दिक अर्थमा आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त हो। त्यसैगरी उदार नीति भएको विचार वा मत हो। तर, उदारवादले धनीहरुले तिर्ने करमा भारी कटौती, ट्रेड युनियनको शक्तिलाई कमी गर्नु, निजीकरणलाई प्रोत्साहन गर्ने, नियम कानुनहरुलाई पूँजी परिचालनमा अनुकुल र सहज बनाउने, सार्बजनिक सेवामा प्रतिस्पर्धा गर्ने जस्ता कार्य गर्दछ।

उदारवादको उत्पत्ति सत्रौं शताब्दीको शुरुबाट भएको पाइन्छ। जोन लकलाई उदारवादका प्रबर्तक मानिन्छ। प्रारम्भिक सिद्धान्तकारहरुमा एडम स्मिथ र जेरमी बेन्थमको नाम आउँछ। उदारवादले खुला बजार, प्रजातन्त्र, अभिव्यक्तिको स्वतन्त्रता, लैंगिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षता आदि जस्ता विषयलाई समर्थन गर्दछ। यसले पूँजीवादी मुनाफाको सानो हिस्सा मानव कल्याणका लागि खर्च गरी पूँजीवादी व्यवस्थाको आयु लम्ब्याउने ध्येय राख्दछ।

उदारीकरणलाई सामान्यतया निम्न पाँच क्षेत्रहरुमा बर्गिकरण गर्न सकिन्छ।

  • वित्तीय प्रवाहको क्षेत्र
  • प्रविधिको क्षेत्र
  • प्राकृतिक श्रोतको क्षेत्र
  • सञ्चार र मिडियाको क्षेत्र
  • भारी ध्वम्सात्मक हतियारको क्षेत्र।

नवउदारवाद

नवउदारवाद भन्नाले सरकार भन्दा बजारलाई, सामाजिक तथा सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभ र सामूहिक क्रियाकलापभन्दा निजी व्यवसाय, उद्यमलाई प्राथमिकता दिने आर्थिक प्रणाली भन्ने बुझिन्छ। नवउदारवादको अर्थ पूँजीलाई स्वतन्त्र आवतजावत गर्न दिनु हो।

अगस्तो पिनोचे, मार्गरेट थ्याचर, रोनाल्ड रेगनको अवधारणादेखि विल क्लिन्टन कालको अमेरिकाको डेमोक्रेटिक, बेलायतको न्यु लेबर, चीनको आर्थिक उदारीकरण र लोककल्याणकारी राज्य, स्वीडेनमा भएका आर्थिक सुधार आदिलाई नवउदारवादको प्रयोग भन्ने गरिएको छ।नवउदारवादको प्रयोग खुला बजार, उदारीकरण, निजीकरणका रुपमा पनि बुझिन्छ र बुझाइन्छ।

नवउदारवादको इतिहास

नवउदारवाद शब्दको प्रथम प्रयोग सन् १८९८ मा फ्रान्सेली अर्थशास्त्री चाल्र्स गिडले इटालिका अर्थशास्त्री माफेओ पान्टालेओनी को आर्थिक विचारको व्याख्या गर्न प्रयोग गरे। सन् १९३८ अगस्टमा पेरिसमा भएको बौद्धिक व्यक्तित्वहरुको भेलामा फ्रान्सेली विचारक लुइस रौगिएरले उदारवादको सट्टा नबउदारवाद शब्दको प्रयोग गर्नुपर्ने धारणा राखेका थिए ।त्यसपछि यसको प्रयोग अर्का उदारवादी अर्थशास्त्री मिल्टन फ्रायडम्यानले १९५१ म गरेका थिए।

सन् १९७० र ८० को दशकमा नव उदारवादको सट्टा खुल्ला बजार भन्ने शब्द पनि प्रयोग गरेको पाइन्छ। सन् १९८० मा मिलिटरी शासक पिनेसोले चिलीमा गरेको आर्थिक सुधारलाई पुनः नव उदारवाद नामावली दिइयो।

सन् १९८० को दशकपछि एडम स्मिथको लेसेस फेयर नीति (सरकारको अहस्तक्षेपकारी उदारवादी नीति) को नयाँ संस्करण नै भूमण्डलीकरण र नवउदारवादको नाममा सुरु भएको हो। सन् १९८२ मा चार्ल्स पिटरले अनिओलिबलर्स मेनिफेस्टो (एक नवउदारवादीको घोषणापत्र) शिर्षकमा लामो लेख लेखे। सन् १९९० को दशकमा नवउदारवाद र नवउदारवादी शब्दको प्रयोग अधिक धेरै गरियो। नवउदारवाद परिबर्तन भइरहने अवधारणा हो। सन् १९८० पछि विश्व बजारमुखी हुँदै गइरहेको पाउँछौं। नवउदारवादले निजीकरण, वित्तीय उदारीकरणको नीति लिन्छ।

आर्थिक तथा राजनीतिक स्वतन्त्रता, स्वतन्त्र व्यापार, मुद्रा प्रदायको नियन्त्रणद्वारा मूल्य नियन्त्रण र आर्थिक विकास आदि नवउदारवादका अवयवहरु हुन्।

नवउदारवादी अर्थतन्त्र

उदारीकरण नवउदारवादी अर्थतन्त्र निर्माणको साधन हो। उदारीकरण भन्नाले साम्राज्यवादी शक्तिहरुले पूँजी, प्रविधि, सूचना, सीप, बस्तु र श्रममाथि एकाधिकार कायम गर्नु र तिनका बजारका लागि सिमाहिन विश्व निर्माण गर्नु भन्ने बुझ्नुपर्दछ। साम्राज्यवादी मुलुकहरुले सन् १९४५ मा विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष बनाए र १९४७ मा सीमा शुल्क तथा ब्यापार सम्झौताको अवधारणा अघि ल्याए। यसको प्रमुख व्याख्याता फ्रेडरिक हायेक र मिल्टन फ्रिडम्यान हुन्।

नवउदारवादका कमजोरीहरु

नवउदारवादले आर्थिक असमानता र असुरक्षा उत्पन्न गरेको, राजनैतिक मूल्य मान्यता र आदर्शहरु क्षयीकरण गर्दै लगेको र सस्तो लोकप्रियतावादी राजनीतिलाई प्रश्रय दिएको पाइन्छ।

साम्राज्यवादीहरुले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, विश्व व्यापार संगठन मार्फत तेश्रो विश्वका देशहरुको सीमाभित्र व्यापार, वित्तीय र प्रविधिको विना रोकतोक गरिने प्रवाहलाई नवउदारीकरणको रुपमा नामाकरण गरेका छन् ।

नवउदारवादले सामाजिक क्षेत्रमा पनि मुनाफाको केही हिस्सा लगानी गर्दै आएको छ। यसको एक मात्र कारण पूँजीवादविरुद्ध मानव जातिमा देखिएको आक्रोश मत्थर गर्नु हो।

source: lokpati

You can share this post!