निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । माघ ११ गते हुने चुनावका लागि उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, मतदानस्थलको सुरक्षा लगायतमा ध्यान दिन आयोगले सरकारलाई भनेको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयलाई नौ बुँदे निर्देशन दिएको छ ।
आयोगले दिएको निर्देशन यस्तो छ
क)निर्वाचन आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउने ।
ख)राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउने ।
ग)प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउने ।
घ)राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफु रहेका स्थानीय तह वा जिल्लाबाट मतदान स्थल तोकिएको प्रदेश राजधानीसम्म र प्रदेश राजधानीमा निज बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउने ।
ङ)निर्वाचक मण्डलका सदस्य मतदाताहरूलाई मतदान स्थल रहेको मोरङको विराटनगर, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कास्कीको पोखरा, दाङको घोराही, सुर्खेतको विरेन्द्रनगर र कैलालीको धनगढीमा होटल व्यवसायीहरूसँग समन्वय गरी मतदाताहरूको निजी खर्चमा बसोबासको प्रवन्ध मिलाउन आवश्यक समन्वय गर्ने ।
च)उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउने ।
छ)राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि तोकिएका मतदान स्थल तथा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा प्रवन्ध मिलाउने ।
ज)राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका तथा मिति २०८० माघ ११ गते मतदान हुने प्रदेशका सात जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन निर्देशन दिने ।
झ)निर्वाचन आचार संहिता कार्यान्वयनको सन्दर्भमा नेपाल प्रहरी लगायत सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन नेपाल सरकार, गृह मन्त्रालय मार्फत सुरक्षा निकायहरूलाई निर्देशन दिने ।