काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पिडितलाई सहयोग रकम प्रदान गरेकोमा सन्त निरंकारी मण्डल नेपाललाई धन्यवाद ज्ञापन पत्र दिएको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जानकारी गराउनुभयो ।
‘विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको संवेदनशील घडीमा भूकम्प प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख पच्चिस हजार जम्मा गरी सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु’, प्रधानमन्त्री प्रचण्डद्वारा प्राप्त पत्रमा उल्लेख गरिएको छ ।
स्मरण रहोस सन्त निरंकारी मण्डल नेपालले गत मंसिर ५ गतेका दिन काठमाडौंको सिंहदरबार परिसरमा रहेको नेपाल बाणिज्य बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको थियो । त्यसअघि सोही दिन नेपाल प्रमुख रावल नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका सम्बद्ध अधिकारीलाई भेटेर राहत तथा मण्डलको सिद्धान्त तथा उद्देश्यबारेमा छलफल समेत गर्नुभएको थियो ।