दुर्गा प्रसाईंहरु कसले जन्माउँछ ?

बलराम रोकाया

मंशिर ७ गते बिहीबार गणतान्त्रिक शासनसत्ता विरुद्ध काठमाडौंमा दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रवादीहरुको आयोजनामा विरोध कार्यक्रम हुने कुरा सामाजिक सञ्जालका भित्ताहरुमा यत्रतत्र देखिदैछन् । व्यक्तिगत बढी राजनीतिक कम तिक्तताका कारण सोही दिन नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले काउन्टर कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । जसको आधिकारिक उद्घोष नेकपा एमालेका युवा नेता महेश वस्नेतले विभिन्न सञ्चारमाध्यमबाट गराइरहेका छन् ।

दुइवटै कार्यक्रम एउटै ठाउँमा गर्न नदिने काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ती  जारी गरिसकेको छ । उनीहरुले कार्यक्रम गर्ने भनिएको ठाउँ माइतीघर र त्यस आसपासका ठाउँमा मंसिर ७ देखि ३० गतेसम्म सार्वजनिक ठाउँमा ५ जना भन्दा बढी मानिस जम्मा हुन नमिल्ने समेत विज्ञप्तिमा उल्लेख । निशेधित क्षेत्र तोक्नुको पछाडी अराजनीतिक अभिव्यक्ति दिएर चर्चामा आइरहने एमाले नेता बस्नेत र अराजक, प्रतिगामी तत्वको नेतृत्व गरेका प्रसाईंका कारण आम नागरिकहरु हिंशाको सिकार हुनसक्ने आँकलन सरकारको हुनसक्छ । उसो त दुर्गा प्रसाईं भन्ने मनुष्य पछिल्लो समय नेपाली जनमा चिरपरिचित नाम हो ।

शासनसत्ताको छत्रछायामा व्यवसायी बनेका प्रसाईं मेडिकल व्यावसायीको रुपमा परिचित छन् । तर केपी शर्मा ओली सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछिको प्रतिबन्धित पार्टीले मेडिकल माफिया विरुद्धको संघर्षमा दुर्गा पर्साइलाई पनि मेडिकल माफियाको लिस्टमा राख्यो । तत्पश्चात् उनलाई मेडिकल व्यावसायी कम मेडिकल माफिया भनेर बढीले चिन्छन् । उनको राजनीतिक पृष्ठभूमि त सबैलाई ज्ञातै छ । उनकै शब्दमा भन्ने हो भने उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा चलेको वि.सं. २०५२ सालको महान जनयुद्धमा प्रत्यक्ष सहभागी भएर महान त्याग गरेका हुन् ।

माओवादी पार्टीको संसदवादी यात्रामा सहभागी भएर विवादास्पद बनेका समाचारहरु पनि नेपाली जनले सुनेकै, देखेकै हुन् । सायद माओवादीबाट स्वार्थसिद्ध नहुने देखेपछि नै होला केपी ओलीको छहारी खोजेको । केहि समय एमालेमा लागेका प्रसाईं गएको निर्वाचनमा एमालेले उनलाई संसदको उम्मेदवार बन्ने अवसर नदिएकोले विशेषगरी केपी ओलीकाे आलोचना गर्दै हिँडेका थिए ।

नेतृत्व तहका नेताहरु प्रति तथानाम बोल्ने र पार्टीको नीति विपरित गएको भनेर नेकपा एमालेले पार्टीबाट निस्काशन गरिसकेपछि उनी सक्रिय रुपमा गणतन्त्र र गणतान्त्रिक शासक विरुद्ध जाइलाग्न थालेका हुन् । जसको आधिकारीक नाटक मञ्चन ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’को नाममा २०७९ फागुन १ गते झापामा गरे । जुन कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परीवारलाई पनि सहभागी गराएका थिए । त्यसयता उनी निरन्तर खराब शासक विरुद्ध होइन हजारौँ नेपाली आमाका होनाहार सपुतको महान बलिदानीबाट आर्जेको गणतान्त्रिक व्यवस्था विरुद्ध धावा बोलिरहेका छन् । यसैको निरन्तरता स्वरुप काठमाडौंमा शक्तिप्रदर्शन गर्न खोजेका छन् । यसले २४० वर्षीय निरंकुश सामान्ति राजसंस्थाको पतनसँगै निरंकुश तन्त्रको पूनर्जन्म हुने अपेक्षा सहित च्याखे थापिरहेका राजावादी दाजु-भाईहरु यतिखेर अलिबढी उत्साहित देखिन्छन् ।

”दुर्गा पर्साइहरु जन्मिनुमा समाजको पनि आंशिक भूमिका त रहन्छ नै प्रमुख भूमिका भने राज्यसत्ताको नै रहन्छ ।”

जुम्लाबाट चप्पल पड्काउँदै, कथित सामाजिक अभियान्ताको पगरी गुथेर काठमाडौं छिरेका ज्ञानेन्द्र शाही गणतन्त्रले दिएको असिमित अधिकार प्रयोग गर्दै संघीय संसदमा प्रवेश गर्नु, साम्राज्यवादीहरुको स्वार्थपूर्ति गर्न स्थापित लण्डनमा मुख्यालय रहेको बीबीसी न्यूजमा कार्यरत हुँदा नेपाललाई भारतमा विलय गर्दा कस्तो हुन्छ भन्ने बहस चलाउने रविन्द्र मिश्र समेत एकाएक जागिरबाट राजीनामा र बैकल्पिक शक्तिको नक्कली खोलमा स्व. उज्जवल थापाद्धारा युवाहरुको सहभागीतामा बडो मेहनत गरेर निर्माण गरेको विवेकशिल नेपाली पार्टी (युवा जोश बाहेक उक्त पार्टीको विचारप्रति म पूर्ण रुपमा असहमत थिएँ) को नक्कल गरी साझा समूह गठन, केहि समय पश्चात् विवेकशील पार्टीसँग एकता, एकताको केहि समयपछि कथित ‘विचारमाथि देश’ भन्ने अराजनीतिक, अवैज्ञानिक, अराजक तर्क अघि सार्दै उक्त पार्टीलाई तहस नहस पारेर सडकमा पछारिएको केहि समय पश्चात् आफ्नो असली मुखुन्डो उतार्दै प्रतिगामी मार्ग (राजावादी) मा लम्पसार पर्दा हौसिएका उनीहरु दुर्गा पर्साइलाई आफ्नो बफादार चाकर ठानी विजयोत्सवको काल्पनिक सपना देख्दैछन् । पर्साइहरुलाई असल, खराब ओकल्न छुट छ, किन कि यो गणतान्त्रिक फुलबारी हो । यहाँ हरेक रंग, रुपका फुलहरु फुल्ने र फक्रिने विशेसाधिकार सबै फुलहरुलाई छ । भलै देश गणतन्त्रमा प्रवेशसँगै गणतन्त्रलाई हाँक्ने नेताहरु असक्षम, अयोग्य, भ्रष्ट, व्याभिचारी होलान् तिनको विकल्प खोज्न सकिन्छ ।

अब मुल प्रश्नमा प्रवेश गरौँ । कसले जन्माउँछ दुर्गा पर्साइहरु ? हो दुर्गा प्रसाईंहरु समय कालखण्डमा हरेक समाजमा जन्मिरहन्छन् । दुर्गा पर्साइहरु जन्मिनुमा समाजको पनि आंशिक भूमिका त रहन्छ नै प्रमुख भूमिका भने राज्यसत्ताको नै रहन्छ ।

यहाँ एकजना झापाका मेडिकल व्यावसायी दुर्गा प्रसाईं व्यक्तिको कुरा होइन, तिनै पर्साइका क्रियाकलाप, वाकशैली र हर्कतको मात्र पनि कुरा होइन । मुख्य कुरा त प्रगतिशील समाजका प्रश्नहरु टिपेर आगो लगाउनेहरुको कुरा हो । प्रगतिशील भनिएको समाजमा प्रश्नहरु किन जन्मिन्छन् ? तिँ प्रश्नहरुको असली जन्मदाता को हो ? कारण नबुझी परिणामलाई मात्र धारेहात लगाउने हाम्रो समाजको प्रवृत्तिले यस्ता तमामखाले प्रश्नको उत्तर खोज्दै समाधान दिने प्रयत्न गर्दैनन् र अग्रगामीको सट्टा प्रतिगमनकारीहरुले यीनै प्रश्नहरुलाई टिपेर आगो लगाउने झिनो प्रयास गरिरहन्छ । सत्य कुरा भन्न हामीलाई कसले रोक्छ ? हजारौँ शहिदहरुले बलिदान दिएर प्राप्त भएको गणतन्त्रलाई हाँक्ने शासकहरुको शासनशैली नै हो दुर्गा प्रसाईंको जन्मदाता ।

आम नागरिकलाई दास बनाएर टिकेको सामान्ति राजाहरुको प्रत्यक्ष शासनमा कांग्रेस र एमालेका लिडरहरु राजाको पाउमा दाम चढाउँदै जिवीकोपार्जन गरिरहेको बखत नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालमा क्रान्तिको शंखघोष गर्याे । सुख, सयल त्यागि, देशी–विदेशीहरुको अन्तरविरोधमा चलाखीपूर्ण चाल चल्दै दुःख कष्ट अझ भनौ आफ्नो जीवनको समेत प्रवाह नगरी क्रान्तियात्रा पूरा गरको नेपाल कम्युनिस्ट पार्टी र त्यसका नेतृत्वहरु सत्ताको सिंहासनमा चढेकै दिनदेखि उर्वरभूमि पाएको प्रतिगमनले दुर्गा पर्साइहरु जन्माउने नै भयो ।

मैले सत्यकुरा भन्दा अवसरवादी, भ्रष्ट, व्याभिचारी, नक्कली, चैते माओवादीहरुलाई भाउन्न भैहाल्छ । ठोस वस्तुको ठोस विश्लेषण गर्दा निष्कर्ष निस्किन्छ । २०६२-०६३ पछिका सम्पूर्ण राजनीतिक, सामाजिक, साँस्कृतिक उपलब्धिको जस र सम्पूर्ण व्यथितिको अपजस नेकपा माओवादी र त्यसका नेतृत्वलाई जान्छ । जनयुद्ध लडेर आएको पार्टी र नेताप्रति नेपाली जनताको अपार श्रद्धा, विश्वास र भरोसा थियो । जसको साक्षी पहिलो संविधानसभाको निर्वाचन छ । जनताको मनमा स्थापित भनिएका ठालुहरुलाई धुलो चटाएर पहिलो पार्टी बन्नु त्यसैको परिणाम थियो । त्यसलै आज जति उपलब्धि भएका छन् त्यो माओवादी कै कारणले भएको हो । र जति अराजकता, भ्रष्टाचार, व्यथितिहरु भएका छन् त्यो पनि माओवादीकै कारणले भएको हो ।

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने माओवादीले संसदलाई उपयोग गर्नुको साँटो माओवादीलाई संसदले उपयोग नगरेको भए, गाउँगाउँमा मठ, मन्दिर भत्काउँदै साँस्कृतिक क्रान्तिको नेतृत्व गरेर विगतको पाप मोचन गर्न विद्यालयको सट्टा टोलटोलमा मन्दिर निर्माण गर्दै, भोका नाङ्गा नागरिकको पेटमाथी लात मार्दै अलौकिक देवीहरुलाई सयौँ केजीका घण्टा चढाउँदै धार्मिक कट्टरपन्थीको पगरी नगुथेका भए, उतिबेला छ महिना खान नपुग्नेहरुले यतिखेर श्रम गरेर नभई कमिशन र ठेकापट्टाबाट असुल गरेको पैसाले तराई तथा राजधानीमा महल खडा नगरेको भए, रुढीवादी र पुँजीवादी शिक्षाको विरोध गर्दै संस्कृति विश्वविद्यालय ध्वस्त पार्दै समाजवादी शिक्षा प्रणालीको वकालत गरेर गाउँ, शहरका सरकारी विद्यालयमा दक्ष शिक्षकको सट्टा आफ्ना चाकरीवाज, वफादार झोलेहरुलाई नियुक्त गर्दै देशकै महङ्गा र विदेशी दुतावासको निःशुल्क छात्रवृत्तिमा आफ्ना सन्तानहरुलाई नपढाएको भए, सुकुम्वासीलाई सामान्तहरुले हडपेर राखेको जमिन सुकुम्वासी नागरिकलाई वैज्ञानिक भूमिसुधार मार्फत वितरण गर्ने नारा बोकेर आफै भूसामन्त नबनेको भए, चाकडी गर्ने लठैतबाहेक इमान्दार नेता, कार्यकर्तालाई घर न घाटको नबनाएको भए, सहिदको रगतले जन्मेको जनमुक्ति सेना नेपाललाई तात्कालिन दरबारीया सेनाको सहयोगमा ब्यारेक कब्जा गर्दै मेनपावर कम्पनीलाई आफै अकुत पैसा बुझाएर (म सँग तीँ मेनपावरका कर्मचारीले दिएको प्रमाण छ आवश्यक भए सार्वजनिक गर्न सकिन्छ) जवर्जस्ती विदेशी भूमिमा नधकेलेको भए, जनवादी कलाकारहरुलाई यौनधन्दा गर्न बाध्य बनाएर पश्चिमा छाडा सँस्कृतिलाई प्रसय नदिएको भए, उफ् ! नाथे दुर्गा पर्साइहरु जन्मिुन त के विस्तारवादी र साम्रज्यवादीहरु पनि नेपालबाट अलप भैसक्थे ।

 

तसर्थ सम्पूर्ण प्रगतिशील राजनीतिक शक्तिहरुसँगै एकपटक पुनः माओवादी शक्तिहरु विगतका कमजोरीहरुको गम्भिर आत्मसकमीक्षा गर्दै एकीकृत भएर वर्तमान समाजका प्रश्नहरुको उत्तर दिने सामथ्र्य राखौँ । यसमै माओवादी आन्दोलनको योगदान र नेपालीहरुको हित छ । नागरिक र सत्ताबिचको खाडल जबजब बढ्दै जान्छ, गरिखाने र बसीखाने बिचका अन्तरविरोधहरु जबजब बढ्दै जान्छन् तबतब दुर्गा पर्साइहरु जन्मिरहन्छन् । भलै तिनका मकसद फरक–फरक होलान् । अन्तमा हजारौँ सहिदको रगत र हामी सारा नेपालीले लडेर ल्याएको गणतन्त्रलाई मास्न सक्रिय अराजक तत्वहरुको मिलेर सामना गरौँ । जनताको नजरमा डुङडुङती गनाएका वर्तमान शासकको विकल्प खोजौँ । दुर्गा पर्साईहरु नजन्मिन हाम्रो राज्यसत्ता जनमुखी बन्न आवश्यक छ ।

You can share this post!

Next article