कविता
सरस्वती चाैलागाइ
तिमी र म उस्तै लाग्थ्यो मलाई
जब म सानो थिएँ ।
किनकी तिम्रो र मेरो कपाल कटाइ उस्तै हुन्थ्यो ।
हामीले लगाउने ड्रेस दुरुस्तै हुन्थ्यो ।
घरको कान्छो सन्तान भएर होला
मलाई बाआमाले `बाबू´ भन्थे ।
गर्व लाग्थ्यो ।
उमेर बढेसँगै थाहा पाएँ तिमी र म मा धेरै फरक रहेछ ।
जब मेरो स्तनको उचाइ बढ्दा तिमीमा त्यो परिवर्तन देखिनँ ।
तिम्रा जुँगाको रेखी बस्दा म मा त्यो परिवर्तन भेटिनँ ।
तब लाग्यो — हामी एउटै होइनौं तर एकअर्काका पुरक हौँ ।
र त्यो दिन मलाई याद छ अझैँ
जुन दिन म तिमीबाट धेरै भिन्न देखिएकी थिएँ ।
म अरु दिनभन्दा पनि भिन्न थिएँ ।
सधैं मेरो जवानीलाई स्पर्श गरेर जाने त्यो घाम
आज उसैलाई हेर्न प्रतिबन्ध लगाइयो ।
मन्दिरका ढोका बन्द भए ।
बुबा र प्रिय दाजुलाई हेर्न निषेध थियो ।
अनि थाहा पाएँ साच्चै फरक रहेछौँ हामी ।
नितान्त मेरो मात्र अनुभुती रहेछ – रजस्वला ।
प्रिय सम्बोधन पुरुष !
तिमीलाई थाहै छ
तिमी त्यही आमाको रजस्वला रोकिएर बनेको रगत हौ ।
म त्यो रात तिमीलाई धेरै सम्झन्छु ।
हरेक महिनाको त्यो चार रात ।
जतिबेला मेरो शरीरबाट रगतमात्र होइन
आँसु र पसिना पनि एकसाथ बग्ने गर्दछन् ।
प्रिय सम्बोधन पुरुष !
मलाई लाग्थ्यो त्यो एक युग झैँ लामो लाग्ने रातहरुमा
तिमी पटकपटक मेरो हात समाऊ र पिडा भुलाऊ ।
अहो! मेरो दुर्भाग्य
फेरि झसङ्ग हुन्छु `म त नछुने भएकी पो हुँ त ।´
आऊ! अब मानसिकताले एकाकार हौँ ।
म तिम्रो भावी संसारको लागि यत्ती धेरै रगत गुमाउँदै छु ।
के तिमी मेरा लागि अलिकति समय गुमाउन सक्दैनौ ?
प्रयास गरेर त हेर ।
म तिम्रो भावी सन्तानको लागि आफ्नो पाठेघर सुम्पिन तयार छु ।
आज त्यही पाठेघरले तल्लो पेट दुखाउँदा
के तिमी मेरो असल मित्र बन्न सक्दैनौ ?
तिमीलाई थाहा छ ?
मेरो रजस्वला तिम्रो भाग्य हो ।
तिमी आफ्नु भाग्यबाट कसरी अछुत हुन सक्छौ ?
आऊ मेरा हात दह्रो गरि समाऊ ।
यी शिलाका देवतालाई प्रसन्न पार्ने शिलशिलामा
म कति रात त्यो अध्यारो कोठामा एक्लै रोउँ ?
यस्तो लागिरहेछ —
पेटभित्र तातो भुङ्ग्रो छ त्यसमा लगातार ढुङ्ग्रीले हावा भर्दै छ ।
कम्मर यसरी दुखिरहेछ
मानौँ, शरीर कम्मरबाट दुई टुक्रामा विभाजित हुन खोज्दै छ ।
प्रिय!
आऊ बस मेरो नजिक ।
दर्द मेटाउन नसके तापनी भुलाउन सकियोस् ।
गर केही प्रेमिल बात
ताकी पेन किलरको जरुरत नपरोस् ।