कविता
शिला शाही ‘सञ्जिता’
सडकको पेटीमा भीख माग्दै
छाक टार्ने मानिस भन्छन्
खै ! अधिकार कहाँ छ ?
घरबारविहिन सुकुम्बासी
जनताले भन्छन्
खै ! जमिन कहाँ छ ?
नब्बे डिग्री घाममा पिल्सिएका
विदेशको गल्ली–गल्लीमा रोजगार खोज्दै
हिँड्दै भौतारिएका युवाले भन्छन्
खै ! रोजगार कहाँ छ ?
विदेशका कोठी–कोठीमा बेचिएकी
नारी भन्छिन्
खै ! मेरो अस्मिता कहाँ छ ?
आफ्नै गाउँ, समाज र छिमेकीबाट
बलात्कृत भएकी प्रहरी चौकीमा धाउँदा पनि
न्याय नपाएकी नारीले भन्छिन्
खै ! न्याय कहाँ छ ?
पुरुषको दासतापूर्ण साङ्गोमा बाँधिएकी
नारीले भन्छिन्
खै ! मेरो स्वतन्त्रता कहाँ छ ?
गरिवको झुपडीमा हुर्किदै गरेका
पढ्न लेख्न नपाएका बालबालिका भन्छन्
लाउने नाना छैन, खाने खाना छैन
खै ! मेरो शिक्षाको अधिकार कहाँ छ ?
रातदिन काम गरी श्रमको मूल्य नपाएका
मजदुरले भन्छन्
बर्षदिन खोरियामा काम गर्दा पनि
छाक टार्न नसक्ने किसानले भन्छन्
खै ! मेरो भोको पेटकको अधिकार कहाँ छ ?
अधिकार त मागेर मिल्दैन
अब खोसेर लिनुपर्छ
अधिकार संविधानमा पनि लेखियो
अधिकार दिन्छौ भन्दै
भाषण गरेको पनि देखियो
तर खै ! मेरो अधिकार कहाँ छ ?
युवालाई रोजगारको अभाव छ
बालबालिकालाई शिक्षाको अभाव छ
जनतालाई बास, गास र कपासको अभाव छ
छट्पटिएको बिरामीलाई स्वास्थ्यको अभाव छ
खै ! मेरो बाँच्न पाउने उपचारको अधिकार कहाँ छ ?
गरिबको झुपडीमा शान्ति छैन
नारीको सुनौलो दिन अझै आएको छैन
खै ! मेरो जीवन जिउने अधिकार कहाँ छ ?
अधिकार पाउनलाई अब लड्नुपर्छ
एकढिक्का भई लड्नुपर्छ
पुरुषसत्ता विरुद्ध
लड्नुपर्छ दलाल सत्ता विरुद्ध
ल्याउनुपर्छ नयाँ व्यवस्था,
अथवा वैज्ञानिक समाजवाद ।