त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौ – त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलवारदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ । यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ । यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । सिरिजअन्तर्गत मंगलवार नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ । 

यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा ९ विकेटले पराजित गरेको थियो । नेपाल उपाधि होडमा बलियो अवस्थामा छ । हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल ३ देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ । नेपालले आफ्नो दुवै खेल जित्दै ४ अंक जोडेको छ । नेदरल्याण्डले २ मध्ये १ खेलमा जीत तथा १ खेलमा हारका साथ २ अंक जोड्दै दोस्रो स्थानमा छ ।  मलेशिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ । नेपाल र नेदरल्याण्ड विरुद्धको सोमवारको खेल दिउँसो सवा १ बजे हुनेछ । 

You can share this post!