सुर्खेत – कर्णाली प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत नपाउने भएपछि कर्णालीमा नयाँ सरकार बन्ने भएको हो । संसदमा १३ सिट रहेको माओवादी केन्द्रले एक जना सांसदलाई कारबाही गरेपछि अहिले १२ सिटमा सिमित भएको छ । एमालेमा लागेका माओवादी केन्द्रका प्रदेश सांसद धर्मराज रेग्मीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही गरेका थिए ।
मुख्यमन्त्री शाहीलाई अहिले कांग्रेसको मात्रै समर्थन रहेको छ । कांग्रेससँग ६ सिट रहेको छ । माअोवादी केन्द्र र कांग्रेस मिल्दा १८ सिट मात्र हुन्छ । ३९ सिट रहेको प्रदेशसभामा मुख्यमन्त्री शाहीले २० जना सांसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, त्यो सम्भावना टरेर गएको छ । एमाले एक्लैसँग सभामुखसहित २० सिट रहेको छ । विपक्षमा मत हाल्न निर्देशन दिँदै एमालेले ह्वीप लगाउने तयारी गरेको छ । एक दुई जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गर्नसक्ने सम्भावना रहेकाे भन्दै एमालेले मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्वीप लगाउने तयारी गरेको हो ।
नेकपा एमालेले कर्णालीमा एकल रुपमा नयाँ सरकार गठन गर्ने तयारी सुरु गरेको छ । एमाले संसदीय दलका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज यमलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । एमालेका एक जना सांसदकाअनुसार कँडेल संसदीय दलको नेता भएकाले पनि उनी नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । ‘हामी विपक्षमा जान सक्दैनौं । त्यो सम्भावना रहेको हुँदा ह्वीप जारी गर्ने तयारी छ । चाँडै नै कर्णालीले नयाँ नेतत्व पाउँछ’, एमालेका ती सांसदले भने ।