लोकराज भट्ट :
सन् २०१९ को सेप्टेम्बरमा नेपाल सरकारले नेपाललाई खुला दिशामुक्त देश घोषणा गरेको बेला देशको सरसफाईको क्षेत्रमा ठूलो फड्को मारेको धेरैले महसुस गरेका थिए । हुन पनि हो, बिगत एक दशकको समयमा नेपालले खुला दिशामुक्त बनाउने अभियानमा उल्लेखनिय कार्य नै गरेको थियो । एक दशक अगाडि अर्थात सन् २००९ सम्म नेपालमा १ करोड ४० लाख मानिसहरुले खुला स्थानमा दिशा पिसाव गर्ने गरेका थिए । त्यति बेला ५० प्रतिसतको घरमा समेत दिशापिसाव गर्ने चर्वी थिएन् । तर त्यो एक दशकको समयमा नेपाल सरकार, वाटरएड नेपाल लगायतका दातृ निकायको सहकार्य र नागरिक समाजको अग्रसरताका कारण एक दशकमै प्रत्येक नेपालीको घरमा चर्बी बन्यो र त्यसमा दिशापिसाव गर्न थाले । सबैको घरमा चर्पी बने । कत्तिको त घर कच्ची तर चर्पी पक्की भन्ने समाचारपनि अखवारमा आए । स्वास्थ्य र सरसफाईका दृष्टिकोणले यो नेपालका लागि सुखद् पक्ष हो । तर जुन रुपले एक दशकमा काम भयो, त्यसपछि भने खानेपानी र सरसफाईका क्षेत्रमा काम अगाडि बढ्न सकेको छैन । त्यसताका बनेका चर्बी समेत अहिले थुप्रै ठाउँमा प्रयोगविहिन हुन थालेका छन् ।
चर्पीबाट निस्कने लेदोयुक्त फोहोरको सही रुपमा व्यवस्थापन हुन नसक्दा कतिपय शहरी क्षेत्रकै चर्पी समेत समस्या हुन थालेका छन् । अहिले नेपालमा दिनप्रतिदिन शहरीकरण भइहरेको छ । संघियतामा देश गएपछि धेरै वटा गाउँ नगरपालिका भएका छन् । त्यहाँ निर्वाचित जनप्रतिनिधिहरुले सासन गरिरहेका छन् । बढ्दो सहरीकरणका कारण फोहोरमैला व्यवस्थापन उनीहरुका लागि चुनौति बन्दै गइरहेको छ । तर फोहोर व्यवस्थापन गरेर सुन्दर र सफा नगर बनाउन न त उनीहरुले यसमा बजेट बिनियोजन गरेका छन न त्यसका लागि स्पष्ट कार्ययोजना नै उनीहरुले अगाडि सार्न सकेका छन् । जनताको प्रत्यक्ष स्वास्थ्य र जिवनसैलीसंग जोडिएको फोहोरमैला व्यवस्थापनमा स्थानिय निकायहरुको बेवास्ताका कारण पूर्ण सरसफाईयुक्त देश घोषणाको अभियानमा धक्का लागेको छ । खुला दिशामुक्त घोषणा भएको देश कहिले पूर्ण सरसफाईयुक्त देश घोषणा होला ? भन्ने प्रश्न सर्वसाधाराणको मनमा उब्जेको छ ।
नगरपालिकाहरुले मलमुत्रलाई कसरी यसको सही सदुपयोग गर्ने र कसरी व्यवस्थित गर्ने बिषयमा ठोस कार्ययोजना बनाउन नसक्दा सरसफाई ठूलो चुनौति बन्दै गइरहेको छ । खानेपानी, ढल व्यवस्थापन, फोहोर व्यवस्थापना वा सरसफाईका बिषयमा कुरा गर्दा अधिकांश स्थानिय निकायका अधिकारीले निजी क्षेत्रसंग मिलेर यस क्षेत्रमा काम गर्ने बताउने गरेका भए पनि उनीहरुले निजी क्षेत्रसँग कस्तो किसिमको सहकार्य गर्न खोजेको हो त्यो स्पष्ट छैन् । कसरी नीजि क्षेत्रसँग काम गर्ने भन्ने कार्ययोजना छैन । वाटरएड नेपालका नीति विशेषज्ञ गोविन्द श्रेष्ठ सरसफाई नै सभ्य सहरको पहिचान भए पनि नेपालका अधिकांश सहरका निर्वाचित पदाधिकारीले यसलाई सम्बोधन गर्न नसकेको बताउछन् । श्रेष्ठका अनुसार मलमुत्रबाट निस्कने फोहोरलाई मोहर बनाएर विकास गर्न सकिने संभावना भए पनि त्यसमा ध्यान दिन सकेका छैनन् । तर स्थानिय निकायका अधिकारी भने स्थानिय निकाय साधन श्रोतले सम्पन्न नभएकाले फोहोर मैला व्यवस्थापनमा सोचे अनुसार काम हुन नसकेको स्विकार्छन् । केही नगरपालिकाका मेयरहरुले त फोहोर बोक्ने गाडी समेत नभएको बताएका छन् । तर गाडी नभएर जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन मिल्दैन । सडक, पुल, स्कुल बनाउने काममा बजेट विनियोजनसँगै सरसफाईमा पनि बजेट विनियोजन गर्नु पर्छ । राजनीतिक पार्टीहरुले अहिलेसम्म सरसफाईलाई राजनीतिक मुद्दा बनाउन सकेका छैनन् । व्यवस्थित सहर बनाउनका लागि राजनीतिक पार्टीहरुले फोहोरमैला व्यवस्थापन र सरसफाईलाई एजेण्डा बनाउनु आवश्यक छ । यो सबै जनताको आवश्यकता हो ।
सरकारले संसदमा पेस भइसकेको खानेपानी तथा सरसफाई विधेयक पास भएपछि स्थानिय तहका सरकार यो अभियानमा अगाडि बढ्न सहज हुने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी बताउछन् । विधेयक पास भएपछि त्यसले स्थानिय तहको अधिकार र कर्तव्य स्पष्ट पारिदिने भएकाले यसको महत्व अझ बढी रहेको उनको भनाई छ । जथाभावी फोहोर गर्नेलाई र घर बनाउदा सरसफाईका मापदण्ड नअपनाउनेहरुलाई समाजको व्यवस्था गर्नु आवश्यक छ । सरकारले खानेपानीका लागि मात्र बजेट विनियोजन गर्ने गरेको छ तर सरसफाईका लागि बजेट हुदैन । त्यसैले सरसफाईका लागि पनि बजेट विनियोजन गर्नु आवश्यक छ । केन्द्र सरकारले स्थानिय सरकारको यस बिषयमा क्षमता बढाउनु पर्छ । अधिकांश घरधनी बढी पैसा खर्च हुने भन्दै सेप्टी ट्यांक बनाउन चाहदैनन । तर त्यसको ठूलो आवश्यकता छ । नयाँ घर बनाउने बेला अनिवार्य सेप्टी ट्यांक बनाउन लगाउने नियम स्थानिय सरकारले बनाएर फोहोर व्यवस्थापनलाई दीर्घकालिन समस्या समाधान गर्न सकिन्छ । घरबाट निस्कने दिशापिसाव सहितको फोहोरजन्य पदार्थ सिधै खोला वा नदीमा मिसाउने गरिएको हुन्छ । यो स्वास्थ्य र वातावरणिय दृष्टिले गर्नु नहुने काम हो । यसमा सबै व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्नु पर्छ । यदी वहन गरिदैन भने वहन गराउने काम स्थानिय निकायको हो । त्यसमा उ चुक्नु हुदैन ।
स्थानिय निकायका निश्चय पनि गर्नु पर्ने धेरै काम छन् । तर ती कामहरु मध्ये फोहोर व्यवस्थापन र सरसफाई पनि महत्वपूर्ण काम भन्ने ठानेर स्थानिय निकायले काम गर्नु पर्छ । त्यसपछि मात्र उसको जनताप्रतिको जिम्मेवारी पूरा गरेको मान्न सकिन्छ ।