– सरस्वती चौलागाईं
ए सरकार !
मेरो दाइ बिदेश जान खोज्दै छ ।
खै कुन्नि किन हो ?
अचेल पढाई छोडेर ऊ राहदानी रोज्दै छ ।
सरकार !
उमेर त सानै छ उसको,
तर परिस्थितिले होला ।
ऊ परिवारको बारेमा सोच्दै छ ।
सरकार यी हेर त ।
दाइजोको कारण घरमा
जवान दिदी अविवाहित बसेकी ।
सायद गरीबीले पिरोलेर होला ।
ऊ… ऊ यस चपेटाबाट उम्किन खोज्दै छ ।
सरकार मेरो दाइ विदेश रोज्दै छ ।
सरकार !
किसानको छोरो हो ऊ..
प बाट परिश्रम र पसिना नै सिकेको छ ।
सरकार ! उसको स्तब्ध मुहार बोलिरहेछ कि,
ऊ तयार छ रे
घर खर्चकै लागि भए पनि,
आफ्नु थोपा थोपा पसिनाको मुल्य चुकाउन ।
ऊ तयार छ रे
दिदिको बिहेकै लागि भए पनि,
त्यो भारी बर्षामा आङ रुझाउन ।
अनि खाडीको ५० डिग्रीमा जिउ सेकाउन ।
ए सरकार !
मैले देखेछु ।
आश बोकेर जानेहरु सास मात्र लिएर फर्केको ।
मैले देखेछु सरकार ।
अर्थिमा प्याकिङ भएर फर्केका युवाहरू ।
सरकार अब त अत्ति भएन र ?
भन्छन् नि राज्य नागरिकको लागि भगवान हुन्छ।
कयौं युवाले गुमाइसके ज्यान ।
सोच त ज्यान लिने भगवान हुन्छ कि सैतान हुन्छ ?
हाम्रो घरको कतै कुनाबाट मिठो आवाज आउँछ ।
छोरी ! राज्य त नागरिकको लागि मन्दिर हुन्छ ।
सरकार! कयौं युवाका सपना पोलिएको ठाउँ
मन्दिर हुन्छ कि चिहान हुन्छ ?
सरकार ! कयौं आमाको काख रित्तियो ।
कयौं नारिको सिउँदो पुछियो ।
ए सरकार !
यत्रो चिच्याउँदा किन भित्तो जति नि बन्दैनौ ?
सुन्ने गरेथेँ-भित्ताको पनि कान हुन्छ।
सरकार ! मेरो सानो अनुरोध..
अब जिविकाकै लागि विदेशी भुमी टेक्न नपरोस् ।
सरकार !
विदेशिनुपुर्व नै रोकिदेऊ न ती पाउहरुलाई,
जो फर्किने आशामा परिवारलाई कुराइरहेछ्न् ।
सरकार ! रोजगारी देऊ न ती युवाहरूलाई,
जो दैनिक चुरोटको खिल्लीसँगै
जिन्दगी उडाइरहेछन् ।
सरकार ! मेरो दाइ राहदानी रोज्दै छ ।
सरकार ! ऊ अब विदेशिन खोज्दै छ ।
सरकार ! रोकिदेऊ ती पाउहरुलाई……..
सरकार ! रोजगारी देऊ ती युवाहरूलाई…..