गजल
नमिता दवाडी
सहारा भन्नू दलिनमा धुवाँ लागेको खाम छ ।
सरकार! घरको खुसी वर्षौंदेखि गुमनाम छ ।
बुझ्दिनँ यो सन्सार हुन्छ केही, देखिन्छ केही,
ओठ फिस्स हाँस्छन्, शरीरमा निलडाम छ ।
मसँग मेरो आकाश यस कारण, रिसाएको हो,
जब भनेँ प्रियकै आँखामा मेरो जून छ,घाम छ ।
अरूको दुखले छुँदैन मान्छेलाई, बेमान्छे भयौ,
आफ्नै मन कुल्चिएर सोध्न सक्यौ, आराम छ ?