नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न सत्ता सङ्घर्ष नाटकीय ढङ्गले नयाँ मोडमा पुगेको छ । केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन प्रचण्डले गरेको प्रयास अन्ततः असफल भएको छ । यो अभियानमा सहभागी भएका नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाललाई नराम्रोसँग जिल्याउँदै प्रचण्डले केपी ओलीसँग सम्झौता गर्नुभएको छ ।
आपसमा सहमति बनिसकेपछि पनि प्रचण्डले माधव र नारायणकाजीलाई कुरा लुकाउँदै आउनुभएको थियो । यता माधव नेपाललगायतलाई केपीका विरुद्ध उचालेर प्रचण्डले आफ्नो ‘बार्गेनिङ पावर’ मात्र बढाउने गरेको जानकारी माधव, झलनाथ र नारायणकाजीले एक साताअगाडि मात्र पाउनुभएको बताइन्छ । गत साउन २९ गते बिहीबार साँझ लुम्बिनी अञ्चलका खास–खास केन्द्रिय सदस्यहरूसँग भएको छलफलका क्रममा समेत प्रचण्ड ‘केपी ओलीसँग आफ्नो कुनै सम्झौता नभएको भन्दै सम्झौता भयो भनेर प्रचार गरी आफ्ना विरुद्ध गम्भीर षड्यन्त्र गरिएको’ भन्दै हुनुहुन्थ्यो । त्यसरी प्रचण्डले सहमति नभएको बताए पनि माधव र नारायणकाजीले प्रचण्डको कुरामा विश्वास नगरेको बताइन्छ । बानेश्वरस्थित एउटा कलेजको सभाकक्षमा प्रचण्ड जसरी कुर्लिनु भएको थियो त्यो सुन्ने तीन वरिष्ठ नेतासहित पच्चिस जना केन्द्रिय सदस्यहरू छक्क परेका थिए । ज्ञातव्य छ, सोही दिन प्रचण्ड र केपीबीच सहमति बनेको थियो ।
६ बुँदे सहमतिको प्रस्ताव प्रस्तुत गर्दै केपीलाई विस्थापित गर्ने खेलबाट बामदेव गौतम बाहिरिएपछि जीवनमरणको लडाइँमा रहनुभएका प्रचण्डले ठूलो धक्का महसुस गर्नुभएको थियो । स्थायी समितिका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा र चन्द्रकान्त खनाललगायतले समेत आफूलाई साथ नदिएर केपीलाई सघाउने जानकारी पाएपछि प्रचण्ड नराम्रोसँग गल्नुभएको थियो । पार्टीको संसदीय दलमा केपीविरुद्ध बहुमत जुटाउन नसकेको र सचिवालयको बहुमतसमेत गुमाएको स्थितिमा स्थायी समितिमा पनि केपीकै बहुमत हुने देखिएकोले प्रचण्ड पूरै गल्नुभएको थियो ।
पूरै समाप्त हुनुभन्दा ‘जो मिल्छ सो लिएर’ भए पनि आफ्नो राजनीतिक भविष्य जोगाउन प्रचण्डले उपयुक्त ठान्नुभएपछि अचानक ‘एकताको स्थिति’ उत्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुदेखि नै अध्यक्ष र प्रधानमन्त्री पद बाहेकका विषयमा मात्र छलफल र सहमति बन्न सक्ने स्पष्ट रूपले बताउँदै आउनुभएको थियो । तर प्रचण्ड केपीलाई दुईमध्ये एक पदबाट नहटाइ नछोड्न ‘दृढ’ हुनुहुन्थ्यो । यो लडाइँमा अन्ततः केपीको पूरै विजय भएको छ भने प्रचण्डले थप क्षति पुग्नबाट आफूलाई जोगाउनुभएको छ । अब प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनका क्रममा र कतिपय राजनीतिक नियुक्तिहरूमा ‘भाग पाउने’ निश्चित मानिएको छ ।
तर, प्रचण्डलाई आगामी महाधिवेशनपश्चात् एकल अध्यक्ष र अर्को संसदीय निर्वाचनपछि प्रधानमन्त्री मिल्ने सम्भावना भने क्षीण छ । केपी शर्मा ओलीले आगामी चैतमा महाधिवेशन गराइ एकल अध्यक्ष बनाइदिने र अर्को संसदीय निर्वाचनपश्चात् प्रधानमन्त्री बनाइदिने विश्वास प्रचण्डलाई दिलाउनुभएको बताइन्छ । तर, नेकपाको नयाँ पुस्ताका नेताहरू पार्टी र सरकारको नेतृत्व लिन आफूहरू नै अगाडि सर्नुपर्ने मानसिकता बनाउँदै छन् । आगामी महाधिवेशनमा केपीको विकल्पका रूपमा प्रचण्ड, माधव, झलनाथ या वामदेव गौतमलाई स्विकार गर्ने सोच नयाँ पुस्ताका नेताहरूमा देखिएको छैन । केपीले अध्यक्ष पद छोडेपछि सबै पुराना नेताहरूले उक्त पदमा दाबी नगरुन् भन्ने चाहना नयाँ पुस्ताका नेताहरूको छ । उनीहरूको यस्तो चाहनामा प्रधानमन्त्री केपी ओली पनि सहयोगी बन्न सक्ने सम्भावना प्रबल छ ।
यदि माधव, झलनाथ, प्रचण्ड र वामदेव पार्टीको सक्रिय राजनीतिबाट अवकाश लिन तयार भएनन् र अर्घेल्याई गरे भने नयाँ पुस्ताका नेताहरू अर्को एक कार्यकालका लागि पनि केपीलाई नै अध्यक्षको जिम्मेवारीमा दोहोऱ्याउन अग्रसर भए भने कुनै आश्चर्य हुने छैन । नयाँ पुस्ताबाट कोही अध्यक्ष बन्ने अवस्थामा पनि पुस्तान्तरणको श्रेय केपी ओलीलाई नै जानेछ र, बाँकी समय प्रधानमन्त्रीका रूपमा केपीले विनाव्यवधान काम गर्न पाउने हुनेछ । यसरी केपीले प्रचण्ड–माधवलाई नराम्रोसँग पराजित गरिदिनुभएको छ । अब भविष्यमा केपीले साथ नदिए पनि प्रचण्डलाई माधव, झलनाथ, नारायणकाजी र बामदेवले समेत साथ नदिने निश्चित छ । तत्कालका निम्ति आफ्नो भाग रक्षा गर्न सफल भए पनि प्रचण्डले आफ्नो राजनीतिक भविष्यमा धेरै ठूलो क्षति पुऱ्याउनुभएको छ । भनिन्छ, प्रचण्ड अब राजनीतिक रूपले सधैंका निम्ति समाप्त हुनुभएको छ ।
source : Ghatana bichar