काठमाडौं – सीमा अतिक्रमण लगायत विवादका कारण भारतसँग नेपालको सम्बन्ध हालसम्मकै खराब अवस्थामा छ । दुई देशबीच विवाद लामो समयदेखी जारी छ । यति नै बेला दुवै देशबीच रहेको संवादहीनता अन्त्य हुने गरी १७ अगष्टमा बैठक हुने तय भएको छ । नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठकको मिति तय भएपनि दुवै देशका अधिकारीहरुले भने त्यसमा जानकारी दिन मानेका छैनन् ।
स्रोतका अनुसार संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेतृत्व गर्नेछन् । संयन्त्रको बैठकले नेपाल–भारत विवाद समाधान गर्न भूमिका निर्वाह गर्ला ? यो प्रश्नको जवाफ सन्तोषजनक छैन ।
संयन्त्रको बैठक कर्मचारीस्तरमा भइरहेको, संयन्त्रले भारतको सहयोगका नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल गर्ने कार्यादेश रहेकाले सीमा अतिक्रमण र भूमि विवादबारे छलफल नहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । जहाँ विवाद हो, त्यहाँ छलफल नै नहुने भएपछि नेपाल–भारत सम्बन्धमा सुधार आउने कुनै संकेत देखिँदैन ।
यस्तै संकेत गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा प्रस्तोताले ‘पछिल्लो सम्बन्ध के छ भारतको ?’ भनेर सोधेको प्रश्नमा ओलीले भनेका छन्, ‘परोक्ष ढंगले मिडियाबाट देखिन्छ । प्रत्यक्ष सरकारबाट केही आएको छैन । सरकार तहबाट प्रयास जारी छ ।’ विवादित विषयमा छलफल गर्न भइरहेका सरकारी प्रयास सफल नभएका प्रधानमन्त्री ओलीको संकेत छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने भारतसँग छलफलका लागि प्रयास गर्दा समेत बेवास्ता भइरहेको जनाएका छन् । केही दिनअघि मन्त्रालयमै परराष्ट्र मामिलाका जानकारहरूसँग छलफल गर्दै भारतको रवैयाबारे ज्ञवालीले जानकारी गराए ।
परराष्ट्रमन्त्रीले पूर्व राजदूत ज्ञानचन्द्र आचार्य, दीपकुमार उपाध्याय, महेश मास्के, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, प्राध्यापक खड्ग केसी तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईसँग छलफल गरे । छिमेकी भारत, चीन र पश्चिमा मुलुकलाई हेर्ने सरकारी परराष्ट्र नीति परिवर्तन गर्ने सन्दर्भमा मन्त्री ज्ञवालीले छलफल गरेका स्रोतले जनाएको छ ।
भारतले अतिक्रमण गरेको भूमिलाई नेपाली नक्सालाई समावेश गरेपनि भूमि फिर्ता गर्न भारतसँग संवाद गर्ने विषयमा नेपाली कूटनीति असफल देखिएको छ । भारतसँग संवाद गर्ने पटक–पटकको प्रयास समेत सफल हुन नसकेको मन्त्रीहरू नै गुनासो गर्छन् । नेपाली कूटनीतितन्त्र ‘कुहिरोको काग’ बनेको छ । भारतका लागि नेपाली राजदूतले समेत यसमा प्रभावकारी भूमिका खेल्न सकेका छैनन् भने राजनीतिक नेतृत्व समेत यसमा चुकेको छ । उता भारतले पनि नेपालसंग वार्ता गर्न कुनै चांसो देखाएको छैन् ।
वक्तव्यबाजीमा आक्रामक
प्रधानमन्त्री केपी शर्मा ओली भारतविरुद्ध चर्काे बोलेर नै सत्ताको शिखरमा पुगेको चर्चा नेपाली राजनीतिमा हुने गर्छ । भारतले अघोषित नाकाबन्दी गर्दा ओलीले चर्काे विरोध गरेका थिए । त्यतिबेलैदेखि राष्ट्रवादी छवि देखाउँदा चुनावी सफलता हात लागेको विश्लेषण हुने गरेको छ ।
ओलीको चर्काे बोल्ने छवि अझै बदलिएको छैन । प्रधानमन्त्रीका रुपमा समेत प्रधानमन्त्री ओली भारतप्रति चर्काे बोल्छन् । केही दिनअघि उनले भारतले नक्कली राम जन्मभूमि अयोध्या बनाएको र सक्कली अयोध्या नेपालमा भएको अभिव्यक्ति दिएपछि विवाद बढेको थियो । ओलीले चर्काे बोलेपनि भारतसँग छलफल नै नगरी वाकयुद्ध गरेर नेपाली भूमि फिर्ता हुने देखिँदैन । भारतसँग छलफलको वातावरण ओली सरकारले बनाउन सकेको छैन ।
टेलिभिजन अन्तर्वार्तामा समेत ओली आक्रामक रूपमै प्रस्तुत भए । उनले भने, ‘वार्तामा बसेर कुराकानी गरेर प्रमाणका आधारमा कुरा टुंग्याऔं भनेर हामीले भनेका थियौं । उनीहरूले हाम्रो भूभाग समेटेर नक्सा सार्वजनिक गरे । हामीले कुरा गरौं भन्दा त्यस्तो खालको जवाफ आयो, देखिहालियो । हामीले हाम्रो भूमि समेटेर नक्सा सार्वजनिक ग¥यौं । कतिपय भारतीय सञ्चारमाध्यमको स्तर, सभ्यता र मापदण्डको कुरा यहाँ नगरौं । भारतीय सभ्यतालाई नै चुनौती दिने खालको सामग्री आए । हामी अहिले पनि दुई मुलुकबीच मित्रता हुनुपर्छ भनिरहेका छौं । समानताका आधारमा मित्रता हुनुपर्छ । २१ औं शताब्दी सुहाउँदो मित्रता हुनुपर्छ । होच्याइने खालको होइन, अपमान गर्ने खालको सम्बन्ध होइन ।’
प्रधानमन्त्री ओलीले समस्याको समाधान संवादमार्फत नै हुने विश्वास व्यक्त गरेका छन् । तर विवादित विषयमा संवाद हुने संकेत छैन । ओलीले अन्तर्वार्तामा भने, ‘संवादमार्फत् तथ्यका आधारमा टुंग्याउनुपर्छ भन्ने पक्षमा हामी छौं । सम्बन्धलाई सुधार्नुपर्छ । वार्ताका माध्यमबाट टुंग्याउनुपर्छ । म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वार्ताका माध्यमबाट यो टुगिन्छ ।’
भारतसँग सम्बन्ध बिग्रिएका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत भारतलाई हेर्ने नीति परिवर्तन गर्ने भनेर आक्रामक संकेत गरेका छन् । सम्बन्ध बिग्रिएका बेला हेर्ने नीति परिवर्तन गर्दा दृष्टिकोण खराब नै बन्ने कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।
गत बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत भारतप्रति आक्रामक रुपमा प्रस्तुत भए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले छिमेकीको अतिक्रमणकारी नीतिका कारण दुई देशबीचको सीमा समस्या उत्पन्न भएको बताए ।
‘सीमामा रहेका पिलरहरू उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्तिले सीमामा समस्या आएको हो । यो प्रवृति नहट्दासम्म सीमा समस्या रहिरहन्छ,’ मन्त्री थापाले भने ।
source : kathmandupati.com