काठमाडौँ — सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो ।
स्वास्थ्य उपचारका लागि सेनाकै छाउनी अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । संयोग मानुपर्छ, १७ दिनको अवधिमा कोही पनि बिरामी परेनन् । दुई पटक पीसीआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेको १७ औं दिन उनीहरूलाई घर फर्काइयो ।
क्वारेन्टाइनमा कोही पनि उपचार गर्नुपर्ने गरी बिरामी नभएको १७ दिन बसेका एक युवाले बताए । सेनाले भने उनीहरूका लागि औषधि खरिद गरेको भन्दै सरकारबाट ७३ लाख ९८ रुपैयाँ भुक्तानी लिएको छ । यसअनुसार १७ दिनमा प्रतिव्यक्ति ४२ हजार २ सय ७४ रुपैयाँ २८ पैसा औषधिमा खर्च भएको देखिन्छ । प्रतिदिन हिसाब निकाल्दा एक जनाको २ हजार ४ सय ८६ रुपैयाँ ७२ पैसा औषधिमा खर्च देखाइएको छ । यो खर्च अस्पतालमा उपचार गर्न बसेको भन्दा बढी भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरू नै आश्चर्यमा परेका छन् ।
‘औषधि उपचार गर्नुपर्ने गरी हामी कोही पनि बिरामी थिएनौं,’ ती युवाले भने, ‘क्वारेन्टाइनको बसाइ अवधिमा एक दिन एक जनालाई खाना अपच भएर बान्ता गर्दा जीवनजल दिएको बाहेक अरू कसैले सिटामोलसमेत लिएको छैन ।’
ती युवाका अनुसार क्वारेन्टाइनको हरेक कोठामा दुईवटा साबुन, एक सय एमएलको सेनिटाइजर, कोठा सफा गर्न पाँच लिटर सोडियम हाइपरक्लोराइड र हरेक दिन एउटा सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।
क्वारेन्टाइनमा औषधि खरिद खर्च मात्रै होइन, खाना खर्चसमेत अपत्यारिलो छ । १ सय ७५ जनाले १७ दिन खाएको खर्च सेनाले ५५ लाख १ हजार ४ सय ३३ रुपैयाँ निकालेको छ । थापाथलीको कार्की पार्टी प्यालेसबाट उनीहरूलाई खाना खुवाइएको थियो ।
१७ दिनमा प्रतिव्यक्ति ३१ हजार ४ सय ३६ रुपैयाँ ७६ पैसा र दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा खाना खर्च भएको सेनाले जनाएको छ । ‘यो त पाँच तारे होटलमा खाना खुवाएकै जत्तिको खर्च भयो,’ जिल्ला संकट व्यवस्थापन केन्द्र भक्तपुरका एक सदस्यले भने, ‘पत्याउनै नसक्ने खर्च केमा गरियो होला ? हामी पनि नियमित गइरहेकै हुन्थ्यौं । यतिको खर्च हुने गरी केही गरेजस्तो लाग्दैन ।’ क्वारेन्टाइनमा बसेकालाई क्याटरिङले सादा खानाको ४ सय, मटन ७ सय, चिकेन ५ सय ५०, खाजा चिया १ सय २५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।
उनीहरूको खाना र उपचार खर्चमा १ करोड २८ लाख ९९ हजार ४ सय ३३ रुपैयाँ खर्च भएको नेपाली सेनाले जनाएको छ । उनीहरूलाई १७ दिन क्वारेन्टाइनमा राखिएको थियो ।
एक युवाले आफ्ना लागि क्वारेन्टाइनमा बस्दा दिनको ७३ हजार खाना र औषधि उपचारमा खर्च भएको सुन्दा आश्चर्य लागेको बताए । ‘खानेकुरा राम्रो थियो तर यति धेरै खर्चचाहिँ हुनु नपर्ने हो ?’ ती युवाले भने ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्वारेन्टाइनमा बसेकालाई खानाको व्यवस्थापन गर्न सरकारले बजेट उपलब्ध गराएपछि सूर्यविनायकको गणलाई निकासा दिएको बताए । ‘खर्च कुन शीषर्कमा कति भएको हो ? यसबारेमा जानकारी छैन । खर्च गर्नेसँग बुझेर मात्रै भन्न सक्छु,’ उनले भने ।
खाना नभएको भन्दै आन्दोलन
दैलेखको डुंगेश्वर गाउँपालिकाको त्रिवेणी संगम माविको क्वारेन्टाइनमा राखिएका ६७ जना शुक्रबार आन्दोलनमा उत्रिए । उनीहरूको माग पीसीआर रिपोर्ट छिटो आउनुपर्ने भन्ने होइन । भारतबाट फर्केका उनीहरूको माग खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको सुविधा हुनुपर्ने भन्ने थियो । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका उनीहरूको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ ।
अझ कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ को सिराजुल उलुम मदरसाको क्वारेन्टाइनमा केही समयअघि ४० जना खाना नपाएपछि भागेर घर गएका थिए । १० दिनसम्म बसिसकेका उनीहरू क्वारेन्टाइनको अवस्थाले दिक्क बनाएपछि भागेका थिए । महोत्तरीमा पनि क्वारेन्टाइनमा बसेकाहरू राति घरमा जाने गरेका छन् । शौचालय गर्न साइकल चढेर १५ मिटेर परको बस्तीमा जाने गरेका छन् ।
माथिका यी दृश्यहरू भारतबाट घर फर्केपछि राखिएको क्वारेन्टाइनको हो । क्वारेन्टाइन व्यवस्थित बनाउन भन्दै सरकारले छुट्टै मापदण्डसमेत तय गर्यो । मापदण्डअनुसार चार पटक खानेकुरा त के एक पटक पनि पेटभरि खानेकुरा खान पाएका छैनन् । मापदण्डअनुसार बिहान आठ बजेभित्र चिया र खाना, १२ बजेभित्र बिहानको खाना, तीन बजेभित्र दिउँसोको नास्ता र बेलुका आठ बजेभित्र रात्रि खाना खुवाउनुपर्ने प्रावधान छ ।
भारतबाट हिँडेर गाउँ आइपुगेकाहरूले पेटभरि खानेकुरा व्यवस्था गर भनेर आन्दोलन थालेका छन् तर हवाईजहाजबाट स्वदेश ल्याएकालाई भने दिनकै ७३ हजार ७ सय ११ रुपैयाँ खर्च गरेको पाइएको छ । चीनको वुहानबाट ल्याइएको मात्रै होइन, खाडी मुलुकबाट जहाजमा ल्याइएका नागरिकलाई पनि जहाजबाट पार्टी प्यालेसको होल्डिङ सेन्टर हुँदै गाडी चढाएर घर पठाउने गरिएको छ । कतिपयलाई खरिपाटी जस्तै व्यवस्थित क्वारेन्टाइनमा राखिएको छ । भारतको नाका हुँदै हिँडेर आउने नागरिकलाई भने सामान्य सुविधासमेत नभएको क्वारेन्टाइनमा कोचिएर बस्नुपर्ने बाध्यता छ ।
source : ekantipur. com