रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

पश्चिम रूकुम घटनाले देश तातेको छ । विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मी जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी पनि चलिरहेको छ । तर, छटपटाइरहेका घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन ।

जाजरकोट — सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्‍यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी हुन्छ । तर, योभन्दा धेरै पीडा हुन्छ, जब पश्चिम रुकुमस्थित चौरजहारीको मेसिन अस्पतालले उपचार खर्च असुल्न तारन्तार फोन गर्छ ।

गत जेठ १० गते भेरी नगरपालिका–५, रानागाँउका नवराज विक प्रेमिकालाई बिहे गर्न चौरजहारी नगरपालिका–८, सोती जाँदा सुदीप पनि साथै थिए । फर्कदा गाँउलेको बर्बर आक्रमणमा नवराजसहित ६ जना केटाहरुको ज्यान गयो । सुदीपसहित १३ जनाले बल्लतल्ल ज्यान जोगाए, एक जना सुरुमै फुत्कन सफल भए, बाँकीलाई मरणासन्न हुनेगरी पिटियो । गाउँलेले चिर्पट, हसिँया, ढुंगाले हान्दा–हान्दै सुदीपलाई प्रहरीले समातेर मेसिन अस्पताल लगेको थियो, त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए । पूरा निको नभई घर फर्कनुपर्‍यो, २ हजार ८ सय ४० रुपैयाँ तिर्न बाँकी थियो । यता, ज्यानको दुखाइ कम भएको छैन, उता अस्पतालले ताकेता गरिरहन्छ । ‘पैसा छैन, न अहिले काम गर्न सकिन्छ, न काम पाइन्छ । कसरी तिर्ने, थाहा छैन,’ सुदीपले दुखेसो पोखे ।

पहिल्यैको उपचार खर्च त बुुझाउन नसकेका सुदीपसँग थप उपचार गर्न कसरी पैसा होस् ! टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको डर छ उनलाई तर घटना भएको दुई साता हुँदा पनि उनको टाउकाको सिटी स्क्यान हुन सकेको छैन । शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच भएको छैन । शुक्रबार रानागाउँस्थित उनको घर पुग्दा बडो चिन्तित मुद्रामा भेटिए । ‘सबै आउँछन्, के भयो भनेर सोधेको–सोध्यै गर्छन् तर उपचार गर्न कसैले वास्ता गर्दैनन्,’ सुदीपले नमिठो अनुभव सुनाए ।

सुदीप खड्का

पश्चिम रुकुमको नरसंहारले देश तातेको छ, विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मीहरु जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी हुन्छ । तर, सुदीपझैं घाइते भने उपचार नपाएर छटपटाइरहेका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालयले समेत घाइतेको उपचारमा ध्यान दिएको छैन । स्थानीय अगुवा बसुन्धरा विक भन्छिन्, ‘सबै मर्नेको पछाडि लागे, घाइतेहरुको बिजोग छ तर कसैलाई मतलब छैन ।’ जाजरकोट पुगेका अधिकारकर्मीले समेत घाइतेको समयमै उपचार गराउन कुनै पहल नचालेको उनको गुनासो छ । स्थानीय प्रतिनिधिले घाइतेको घर पुगेर सहानुभूतिसमेत प्रकट गरेका छैनन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को घटनास्थल औलजिउला र भेरी नदी । तस्बिर : हरि गौतम

सुदीपको भन्दा थोरै माथि अर्का घाइते मदन शाहीको घर छ । काठमाडौंमा अध्ययन गरिरहेका मदन लकडाउन हुने भएपछि घर गएका थिए । उनी भर्खर १८ वर्ष पुग्दैछन्, उनको पनि टाउको र काँधमा ठूलो चोट छ । हात थररर कापिरहन्छन् । खुट्टा चलाउन सक्दैनन् । मुन्टो बांगिरहन्छ । उनका अनुसार दुई तीन जनाले टाउको समातेर ढुंगाले हानेका थिए, बाहिर घाउ त छँदैछ, भित्रसम्मै असर परेको अनुभूत हुन्छ उनलाई तर उनको पनि उपचार हुन सकेको छैन । उनलाई पनि मेसिन अस्पतालले १५ सय तिर्न फोन गरिरहन्छ ।

‘छोरो बाँच्यो तर टाउकोको चोटले सधैं सताउने भयो । उपचार गर्न कसैले वास्ता गरेनन्,’ मदनकी आमा लक्ष्मी शाही सुक्सुकाउँदै भन्छिन्, ‘मर्ने मरेर गइहाले, बाँच्नेको पनि बिचल्ली हुने भयो ।’ काँध र खुट्टामा जडिबुटी ओखती बनाएर हालिरहेकी छन् । बाहिरबाट त घाउ सुक्दै गएको छ । भित्री चोट पहिल्याएर निको पार्न छोरालाई छिट्टै अस्पताल लैजान चाहिन्छन् । ‘तर, अस्पताल जान पैसा छैन,’ यसो भनिरहँदा उनका आँखा टिल्पिलाएका थिए ।

मदन शाही, साथमा आमा लक्ष्मी शाही

लक्ष्मीका अनुसार मदन निदाउनै सक्दैनन्, झक्सिरहन्छन्, सुतेको बेला पनि चिच्याएझैं गर्छन् । एक्कासि ४०–५० जनाले ढुंगाले हिर्काएको, रुँदै–कराउँदै, चिच्याउँदै भेरीमा फाल हालेको, भेरीको एउटा भंगालो तरिसक्दा पनि गाँउलेले लखेटी–लखेटी कुटेको आततायी क्षण बिर्सनै सकेका छैनन् । त्यसमाथि ६ जना साथी गुमाएको पीडा । ‘जतिबेला पनि हामीलाई खेदेर ढुंगा हानेको झल्को आउँछ, मुटु काँप्छ, निदाउनै सक्दिनँ । बल्लतल्ल निदायो भने फेरि त्यही घटनाले झस्काइहाल्छ,’ दबेको स्वरमा मदनले भने । भेरी तरेर जाजरकोट आइसकेपछि पनि उनलाई त्यहाँ पहिल्यै जम्मा भएको भीडले ढुंगा र लात्ती बर्साएको थियो ।

भर्खर १६ वर्ष पार गरेका गोविन्द सुनुवारको हालत अझ दयनीय छ । शुक्रबार भेट हुँदा उनी कुरा गर्न सक्ने स्थितीमासमेत थिएनन् । बल्लतल्ल बोले पनि बेसुरका कुरा गर्थे । कोही अगाडि पर्दा झस्किएझैं देखिन्थे । टाउको सधैं निहुरिएको हुन्थ्यो । हिँड्दा लरबरिन्थे । गोविन्दको टाउको र गर्दनमा गहिरो चोट लागेको छ । उनको व्यवहार र बोलीचालीमै असामान्य परिवर्तन आएको स्थानीयले बताए । उनलाई करिब डेढ घन्टा नियाल्दा मानसिक समस्याको छनक पाइन्थ्यो । अर्का घाइते लालबहादुर खड्काको पनि छाती र टाउकोमा चोट छ । बोल्नसमेत गाह्रो हुन्छ ।

रानागाउँकी स्थानीय अगुवा बसुन्धराका अनुसार प्राय: सबै घाइतेहरुलाई मानसिक तनावले सताइरहेको छ । झर्को मान्ने, डराउने, रिसाउने, एक्लै बस्ने, आत्तिने गर्छन् । उनीहरुलाई फेरि आफूमाथि हमला होला भन्ने भय छ । घाइते इन्द्रजंग शाह भन्छन्, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा कसले गर्छ ?’ कहिल्यै नसुनेको/नदेखेको घटना आफैंले भोग्नु परेकाले त्यहाँबाट बाहिर निस्कनै नसकेको उनले बताए । घाइतेको आधारभूत स्वास्थ्य उपचारमै यतिबिघ्‍न बेवास्ता छ, मानसिक तनाव हटाउन परामर्श र सुरक्षाको बन्दोबस्त त कहिले होला †

गोविन्द सुनुवार

घाइतेहरु सबैको आर्थिक अवस्था नाजुक छ । कोही पढ्थे, त कोही ज्याला मजदुरी गर्थे । स्थायी आम्दानी कसैको छैन । सुदीपलाई त आमाबुबा, पत्नी र छोरीका लागि पनि खर्च जोहो गर्नुपर्ने बाध्यता छ । आफैले उपचार खर्च व्यर्होने सक्ने अवस्था छैन । कुनै संघसंस्था वा व्यक्तिबाट उपचारका लागि सहयोग नपाएको घाइतेहरुले बताए । यतिका दिन प्रशासनले बेवास्ता गर्‍यो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त घाइतेले उपचारको बिल बुझाए सरकारले फिर्ता दिने बताउँछन् । ‘घटनालगत्तै घाइतेलाई उपचार गरेर विल पेस गर्न पनि भनेका थियौं तर घाइतेहरुले गर्न सकेनन्,’ प्रजिअ बस्नेतले भने । घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोर्ने उनको भनाइ छ ।

लालबहादुर खड्का

प्रजिअको यो भनाइले घाइतेहरुको चित्त दुखेको छ । घाइते सुदीप खड्का भन्छन्, ‘हामीसँग पैसा भए किन सरकारसँग गुहार्थ्यौं ? आफैं उपचार गरिहाल्थ्यौं नि ।’ मेसिन अस्पतालको बिलसमेत नतिरेकाले घाइतेहरुलाई सरकारले उपचार गरिदेला भन्ने आशा छैन । त्यसमाथि समयमै उपचार नपाउँदा चोट निको नहोला भन्ने चिन्ता छँदैछ । भलै प्रजिअ बस्नेत घाइतेको उपचारमा कुनै कमी नहुने दाबी गर्छन । ‘मृतकको खोजी गर्नुपर्नेलगायत कारणले घाइतेको बेवास्ता भएजस्तो लागेको मात्र हो तर हामी उपचार गर्छौं,’ उनले भने ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उपचारमा ढिलाइ भएको स्वीकारे । मृतकको खोजी, पोस्टमार्टम र कानुनी प्रक्रियाले घाइतेतिर ध्यान दिन नसकेको उनको भनाइ छ । ‘पूरक जाहेरी दिने क्रम पनि लगभग पूरा भएको छ । अब हामी घाइतेको उपचार गरिहाल्छौं,’ मेयर घर्तीले भने । घाइतेका आफन्तले बारम्बार गुनासो गरेपछि शुक्रबार अर्कै कामका लागि जिल्ला समन्वय समिति पुगेका घाइतेहरुसँग उनले सामूहिक भेट गरेका थिए । सुरुमा घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार हुने उनले जानकारी दिए । भन्छन्, ‘कोभिड–१९ का कारण बाहिर जिल्ला लगिहाल्ने अवस्था छैन, त्यसैले यहीं उपचार गर्छौं । बरु औषधि नेपालगञ्जबाट मगाउँछौं ।’

सबै घाइतेको छाती र टाउकोमा चोट लागेको छ । तत्काल सिटी स्क्यान गर्नु आवश्यक छ । घाइते र आफन्तले यही बिन्ती गरिरहेका छन् तर जाजरकोटमा सिटी स्क्यानको सुविधा छैन । घटनाको दुई साता बित्दा पनि नगरपालिका र जिल्ला प्रशासनले जिल्लाबाहिर लगेर उपचार गर्ने इच्छाशक्ति देखाएको छैन । सल्यान र बाँकेका दुई घाइते उपचारबिनै आफ्नो घर फर्किसकेका छन् । यसको पनि प्रशासनलाई पत्तो छैन । सुदीपले भने, ‘बाँच्न त बाँचियो तर छाती र टाउकाको घाउले जीवनभर सताउला जस्तो छ ।’

source : ekantipur

You can share this post!

Next article