काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’
हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ। अहिले देशभर कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति छैन ।
त्यसैले अब लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ भन्ने बहस सुरु भएको छ । सरकारले पनि यस विषयमा बहस थालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छलफलका क्रममा पनि यसअघि नै विज्ञहरूले लकडाउनको मोडल परिवर्तन गर्न सुझाएका थिए ।
तर, आइतबार मन्त्रिपरिषद्ले १० दिन अर्थात वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गर्यो । यसले स्वाभाविक रुपमा प्रश्न जन्माएको छ, ‘के फेरि कोरोना संक्रमणको खतरा बढेको हो ? या त तयारी नपुगेकाले लकडाउन थपिएको हो ?
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की अहिले नेपालमा कोरोनाको जोखिम करिब-करिब नियन्त्रणमा रहेको बताउँछन् । बिस्तारै लकडाउन खुकुलो बनाउने मन्त्रालयको सोच छ र त्यसका लागि विज्ञहरूसँग सुझाव पनि मागिएको छ ।
त्यसोभए, फेरि पुरानै मोडलमा लकडाउन किन त ? सरकारले आफ्नै योजनाअनुसार काम गर्न नसक्दा यो निर्णय गर्नुपरेको सरकारी अधिकारी स्वीकार्छन्।
‘संक्रमित भेटिएको समुदायको सबैलाई टेस्ट गर्ने भनिए पनि त्यहाँ सबै मानिसको स्वाब कलेक्सन गर्न सकिएको छैन’ डाक्टर कार्की भन्छन्, ‘लकडाउन भनेपनि मानिसहरूको आवतजावत बन्द भएको छैन । अनि कसरी सेफ जोन मार्किङ गर्ने ?’
स्वास्थ्य मन्त्रालयले विज्ञहरुको सुझावअनुसार रेड, एल्लो र ग्रिन जोन मार्किङ गर्ने र त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने योजना बनाएको थियो । यसका लागि एकातिर टेस्टको दायरा बढाउनुपर्छ भने अर्कोतिर मानिसको आवतजावत पूर्ण रुपमा बन्द गर्नुपर्छ।
तर, सरकारले एकातिर टेस्टको दायरा बढाउन सकेन भने अर्कोतिर मानिसहरूको आवतजावत पनि पूर्ण रुपमा रोक्न सकेन ।
बरु काठमाडौं उपत्यकामा भएका हजारौं मानिसहरू गाउँगाउँ लैजाने होडबाजी जनप्रतिनिधिहरू बीचमै चल्नथाल्यो । यही कारणले विभिन्न जिल्लामा रहेकाहरू पनि काठमाडौं आउन थाले । यस्तो अवस्थामा लकडाउन खोल्दा संक्रमण हृवात्तै बढ्ने खतरा हुने डा. कार्की बताउँछन् ।
के हो त अहिलेको रणनीति ?
स्वास्थ्य मन्त्रालयका अधिकांश विज्ञहरू अहिलेको रणनीति टेस्ट, ट्रेस र टेस्ट नै भएको बताउँछन् । कोरोना भाइरसको संक्रमित भेटिएको क्षेत्रलाई नै सिल गरेर सबैको जाँच गर्नुबाहेकको अन्य रणनीति नभएको उनीहरूको कथन छ ।
नयाँ रणनीति किन नबनाइएको त ? डाक्टर कार्की केही केसको उदाहरण दिन्छन्-डाक्टर खेम कार्की भन्छन्, ‘अहिले जे भइरहेको छ, त्यो अप्रत्याशित छ । त्यसैलै कुनै निश्चित रणनीति बनाएर त्यसअनुसार चल्नुभन्दा एक्टिभ केस पछ्याइरहेका छौँ ।’
सरकारले दुई साता अघिसम्म सुदूरपश्चिमलाई ‘हटस्पट’ मानेको थियो । त्यही अनुरुप तयारी पनि गरेको थियो । टेस्ट र कन्ट्याक ट्रेसिङको काम थालेको थियो । त्यही बेला वीरगञ्जमा रहेका तीन जना भारतीय जमातीमा कोरोना संक्रमण देखियो । लगत्तै सरकारको ध्यान वीरगञ्जतिर मोडियो । त्यहाँ कन्ट्याक ट्रेसिङको काम गर्दागर्दै उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बसेका एक नेपाली र ११ भारतीय गरी १२ जना जमातीमा कोरोना संक्रमण देखियो । सोही दिन चितवनमा पनि दुई जनामा संक्रमण पुष्टि भयो । संक्रमणको सिलसिला त्यतिमै रोकिएन, भुल्केमा थप संक्रमित भेटिएका छन् ।
सरकारको ध्यान उदयपुरतिर गयो। कन्ट्याक ट्रेसिङ गर्ने टोलीबाहेक उदयपुरमा अनुगमन गर्न सरकारले चार जनाको विज्ञ टोली पठायो । विज्ञ टोलीले प्रारम्भिक अनुसन्धानबाट संक्रमणको स्रोत जमातीहरू नभएर लकडाउन घोषणा हुनुभन्दा अगाडि नै भारत र तेस्रो मुलुकबाट आएका युवक (जसमा पनि कोरोना संक्रमणको पुष्टि भयो) हुनसक्ने आशंका गर्यो ।
तर, उनीहरूबाटै संक्रमण सरेको भन्ने आधार भेटिएको छैन । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर कार्की भन्छन्, ‘उदयपुरमा संक्रमित भएकाहरूमध्ये को अगाडि निको हुन्छन्, त्यसबाट संक्रमणको स्रोत पत्ता लगाउन सहयोग मिल्न सक्छ कि ।’
त्यही बेला भोजपुरका एक युवामा संक्रमण देखियो । झापामा पनि संक्रमित भेटिए । विदेशबाट आएका छोराले बुबालाई सारेको भनेपछि अरू ठाउँमा पनि संक्रमण सर्ने खतरा बढ्यो । झापामा अर्का व्यक्तिमा पनि संक्रमण पुष्टि भयो ।
यही कारण सरकारले लकडाउनको मोडलमा कुनै परिवर्तन नगरेको डाक्टर कार्कीको तर्क छ । भन्छन्, ‘अहिले जे भइरहेको छ, त्यो अप्रत्याशित छ। त्यसैलै कुनै निश्चित रणनीति बनाएर त्यसअनुसार चल्नुभन्दा एक्टिभ केस पछ्याइरहेका छौँ ।’
अर्को ठाउँ हटस्पट बन्न सक्छ
लकडाउन गरेको डेढ महिना भएपनि भारतबाट लुकेर नेपाल आउने क्रम अझै रोकिएको छैन । काठमाडौं उपत्यकाबाट विभिन्न गाउँ पुगेका मानिसहरूका कारण पनि संक्रमण देखिने खतरा बढेको भन्दै डाक्टर कार्की भन्छन्, ‘भुल्के जस्तै अरू कुनै ठाउँमा कोरोना ‘हटस्पट’ बन्यो भने अनौठो नमाने हुन्छ ।’
मन्त्रालयले यही साता मुस्लिम आयोगको सहयोगका काठमाडौंका विभिन्न मस्जिदमा बसेका दुई सयभन्दा बढी जमातीको कन्ट्याक ट्रेसिङ पनि गरेको थियो । उनीहरूमध्ये एक सय ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अरूको रिपोर्ट आउन बाँकी नै छ ।
अधिकारीहरुका अनुसार लकडाउनकै समयमा १६ जना जमातीको एउटा समूह सडकको बाटो हुँदै काठमाडौं आएको र महालक्ष्मी स्थानको एउटा मस्जिदमा बसेको पाइएको छ । उनीहरूलाई लिएर आउने एक जना जमाती वीरगञ्ज पुगेकाले सबैको कन्ट्याक ट्रेसिङ सकेर नमुना परीक्षणको काम भइरहेको छ ।
यस्तै, नेपाल बुद्धिस्ट फेडेरेसनसँगको सहकार्यमा काठमाडौंमा रहेका गुम्बमा बसेकाहरूको कन्ट्याक ट्रेसिङको काम सुरु भइसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
‘लकडाउनको बेला काठमाडौबाट गाउँ र भारतबाट नेपाल छिर्ने मानिस हाम्रो चुनौतीको रुपमा खडा भएका छन्। त्यही कारण सेफ जोन मार्किङ गर्ने रणनीति फेल खायो’ डाक्टर कार्की भन्छन् ‘अब बोर्डरबाट छिर्ने मानिस रोक्न रणनीति बनाइरहेका छौँ।’
उदयपुरको समीक्षा के ?
अहिलेको अवस्थासम्म उदयपुरको त्रियुगा नागरपालिका-३ भुल्के कोरोना संक्रमणको हटस्पट बनेको छ । स्थानीयहरूलाई भन्दा अगाडि भारतबाट छिरेका जमातीहरूलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ हल्लीखल्ली मच्चिएको थियो ।
अहिले सरकारले उदयपुरलाई खतराको घण्टी मानेर संक्रमण देखिएको क्षेत्र सिल गरेको छ । त्यहाँ अनुगमन गर्न खटिएका टोलीले केही भन्ने बेला भएको छैन भनेर मन्त्रालयलाई रिपोर्टिङ गरेका छन् । तर, उनीहरूको संकेत संक्रमणको स्रोत विदेशबाट फर्किएका नेपाली वा विदेशबाट आएका जमाती हुन सक्नेछ । डाक्टर कार्की भन्छन्, ‘युरोप अमेरिकाको अवस्था हेरेर नेपालको अवस्था विश्लेषण गर्न सकिन्न । अहिले म्याथम्याटिक्सले काम गर्दैन ।’
केही विज्ञहरूको फरक मत
स्वास्थ्य मन्त्रालयका केही विज्ञहरूको भने फरक मत छ । उनीहरू स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिन कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति बन्नु घातक भएको मान्छन् । समन्वय समितिको ध्यान राजनीतितिर जाँदा गर्न सक्ने काम पनि नभएको एक विज्ञ सुनाउँछन् ।
‘स्वास्थ्य मन्त्रालय इतिहासकै दुर्बल समयमा छ’ उनी भन्छन्, ‘भूकम्पले तहसनहस हुँदा पनि स्वास्थ्यले राम्रै काम गर्यो । तर, अहिले कोरोनामा उच्चस्तरीय समन्वय समिति बनाएर मन्त्रालयलाई कमजोर बनाइयो ।’
उनी अहिले नेपाल कुन अवस्थामा छ भन्ने विश्लेषण गर्न सक्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार भ्याक्सिन नबन्दासम्म खतरा रहिरहन्छ ।
संक्रमित बढे कसरी काम हुन्छ ?
कोभिड–१९ सँग लड्न सरकारले चार चरणको तयारी गरेको छ ।
अहिले पहिलो चरणको योजनाअनुसार काम गरिरहेको छ । कोभिड–१९ पोजेटिभ देखिएका सबैलाई कोभिड अस्पतालमा ल्याएर निगरानी र उपचार गर्ने काम भइरहेको छ । २ हजारसम्म संक्रमित भए पहिलो चरणको योजनाअनुसार काम हुने बताइएको छ ।
संक्रमित थपिएर धेरै भएमा लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा बस्न भन्ने र लक्षण देखिएकालाई मात्र अस्पतालमा ल्याएर निगरानी तथा उपचार गरिनेछ । यसलाई दोस्रो चरण भनिएको छ र २ देखि ५ हजार संक्रमित हुँदासम्म यो योजना अनुसार काम हुन्छ ।
तेस्रो चरणमा कोभिड–१९ पोजेटिभ देखिएकामध्ये अस्पताल भर्ना हुनुपर्नेलाई कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार गर्ने र अन्यलाई घरमै क्वारेनटाइनमा राखिने छ । ५ हजारदेखि १० हजार मानिसलाई संक्रमण देखिएको यो तेस्रो चरणको योजना लागू हुनेछ ।
१० हजार भन्दा बढी मानिसमा संक्रमण देखिए चौथो चरणको रणनीतिअनुसार काम हुनेछ । यदि कोभिड–१९ अस्पतालमा भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएमा अन्य सबै अस्पतालमा कोभिड–१९ को उपचार गरिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
चार चरणको योजनाअनुसार अहिले स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, सम्भावित संक्रमितहरुको सूची तयार गरी जाँचपड्ताल गर्ने, कोभिड–१९ नियन्त्रण उपकरणहरु तयारी अवस्थामा राख्ने काम गरिरहेको मन्त्रालयको आपतकालीन व्यावस्थापन महाशाखाको प्रमुख डाक्टर गुणराज लोहनी बताउँछन् ।
‘अहिले भाइरसको नेचर परिवर्तन भइरहेको छ, भ्याक्सिन पत्ता नलागेसम्म यसले सताइरहन्छ’ डाक्टर लोहनीले भने, ‘विस्तारै लकडाउन नखुलाए भाइरस भन्दा मानिसहरु भोकले मर्नेछन् । त्यसैले छुट्टै मोडलमा लकडाउन खुलाउन वहस गर्नुपर्छ ।’
source onlinekhabar