भ्रमण वर्ष प्रचार गर्न पर्यटन बोर्डको आफ्नै फोटोग्राफी साइट, नेपाल झल्किने फोटो राखिने

काठमाडौं। नेपाल पर्यटन बोर्डले भ्रमण वर्ष २०२० लक्षित गन्तब्य र संस्कृति  प्रचारप्रसारका लागि अनलाइन साइट फोटो नेपाल डट ट्राभल (photonepal.travel) संचालनमा ल्याएको छ।

नेपाल संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस साइटको उद्घाटन गरे। साइटले नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारमा राम्रो योगदान पुर्याशउने बताउँदै मन्त्री भट्टेराईले भने, ‘समय छोटो रहेका कारण हामीले भ्रमण वर्ष २०२० लक्षित प्रचारप्रसारको काम सोचेजस्तो अगाडि बढाउन सकेका छैनौँ। अहिले भ्रमण वर्ष तयारीको एक्सिलरेसन र गियर बढ्ने क्रममा रहेको छ। विभिन्न मुलुकमा प्रचारप्रसारमा तिब्रता ल्याउनका लागि गृहकार्य भइरहेको छ। नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र निजी क्षेत्रसँगको सहकार्यमा हामी भ्रमण वर्षको तयारीमा छौँ।’

मंगलबार सुरु गरिएको साइट लगायत पर्यटनसँग सम्वन्धित निकायमार्फत वेबसाइट संचालनमा ल्याइ निकट भविष्यमा एक करोडभन्दा बढी भिजिटर बढाउने मन्त्री भट्टराईले कार्यक्रममा बताए।

‘विभीन्न मुलुकमा रहेका नेपाली र विदेशीहरुले अनलाइनमार्फत नेपालको पर्याप्त सुचना नआएको गुनासो गर्दै आएका छन्। हामीले भ्रमण वर्ष सचिवालयलाई पनि डिजीटल प्रचारप्रसारमा अघि बढ्न निर्देशन दिइसकेका छौँ। यस्ता आधिकारीक साइटमार्फत पर्यटकीय गन्तब्य, संस्कृति, जीवनशैली लगायत क्षेत्रको विस्तृत पहिचान विश्वव्यापी रुपमा प्रचार हुनका साथै तस्विर कैद गर्ने आधिकारिक व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्न सक्नेछन्।’ उनले भने।  

नेपालको प्राकृतिक सौन्दर्य, परम्परा, संस्कृति लगायत समेवन्धित तस्विर विश्वबजारमा प्रचारप्रसार गर्नुका साथै फोटोग्राफरको प्रस्तुति विस्तार गर्ने उद्धेश्यले यो  अनलाइन साइट संचालनमा ल्याइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए।

विगत चार वर्षदेखि बोर्डले औपचारिक रुपमा ‘फोटो नेपाल’ कार्यक्रम आयोजना गर्दै आएकोमा मंगलबारदेखि अनलाइन मार्फत अनलाइनमार्फत तस्विर प्रदर्शन सुरु गरेको हो।

बोर्डका अनुसार यो साइटमा प्रयोगकर्ताले व्यक्तिगत प्रोफाइलमार्फत आफूले कैद गरेको तस्विर अपलोड गर्न सक्नेछन् भने अपलोड भएका तस्विर इच्छुक दर्शकले आधिकारीक व्यक्तिसँगको समन्वयमा प्रयोग गर्न सक्नेछन्।

साइटमा अपलोड गरिएका तस्विर नेपाल पर्यटनबोर्डको एड्मिनको अनुमतिमा पोष्ट गरिने बोर्डले जनाएको छ। बोर्डका अनुसार अपलोड भएका विस्तृत जानकारी सहितका तस्विरमा फोटोग्राफरको सम्पुर्ण जानकारी हुनेछ।

हाल यो साइटमा दैनिक पाँच हजार अवलोकनकर्ता छन् भने वाइल्डलाइफ, संस्कृति, ल्याण्डस्केप, ट्राभल लगायत विभीन्न विधाका एक हजार तस्विर अपलोड भएका छन्।

साइटमा पठाइने तस्विर अधिकतम २० एमबिको हुनुपर्ने र वाटरमार्क प्रयोग गर्न नपाइने प्रावधान रहेको बोर्डले जनाएको छ।        

source: bizmandu.com       

You can share this post!