प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै


काठमाडौँ, २९ पुस /रासस/ : नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ । 

विद्यार्थीकालमा संस्कृत भाषा पढ्न नचाहनेले पनि व्यावसायिक कामका बेला ज्ञानको आवश्यकता महसुस गर्न थालेपछि यसप्रतिको आकर्षण बढेको हो । विद्यार्थीकालमा संस्कृत पढ्न नचाहेकाहरू पेशाले योग शिक्षकका रूपमा काम गर्न थालेपछि भने भाषा जान्नुपर्ने निष्कर्षमा पुगी संस्कृत संभाषण शिविरमा सहभागी भएका छन् । 

योग दर्शनका धेरै ज्ञान संस्कृत भाषामै रहेकाले शिविर राखिएको पतञ्जलि योग समितिका केन्द्रीय प्रमुख लवदेव मिश्रले जानकारी दिनुभयो । जयतु संस्कृतम् संस्थासँगको सहकार्यमा पुस २३ गतेदेखि १० दिने शिविर आयोजना गरिएको हो । शिविरमा ३३ जनाको सहभागिता छ । सहभागीमध्ये धेरैजना योग शिक्षक हुनुभएको उहाँले जानकारी दिनुभयो । शिविरमा १५ महिला सहभागी छन् । 

चौथो राष्ट्रिय योग दिवसको अवसर पारेर योग शिक्षकलाई ‘पातञ्जल योग दर्शन’ लगायत ग्रन्थमा भएको ज्ञान लिन सहज बनाउने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । संस्कृत भाषाको सामान्य मात्र ज्ञान भएपनि गीता, उपनिषद् लगायत योगका विषयमा चर्चा गरिएका ग्रन्थको अध्ययनका लागि सजिलो हुन्छ । 

विश्वभाषा क्याम्पसमा अङ्ग्रेजी विषय पढाएर सेवा निवृत्त हुनुभएका प्रा गणेश बरालको दिनचर्या पनि हाल संस्कृत भाषाको अध्ययनमै बित्ने गरेको छ । पूर्वीय दर्शनका धेरै विषयको ज्ञान लिन संस्कृत भाषाको सामान्य जानकारी हुनुपर्ने आवश्यकता महसुस गरी आफू शिविरमा सहभागी भएको उहाँले सुनाउनुभयो । 

जयतु संस्कृतम् संस्थाका महासचिव एवं शिविरका प्रशिक्षक डा नवराज कट्टेल १० दिने शिविरले भाषाप्रतिको सामान्य ज्ञान दिनुका साथै थप अध्ययनका लागि लगाव बढाउने बताउनुहुन्छ । थप अध्ययनका लागि स्वअध्ययन अथवा अरु कक्षा आवश्यक पर्ने उहाँले सुनाउनुभयो । 

दिनप्रतिदिन विदेशी भाषाप्रतिको आकर्षण बढे पनि देवभाषाका रूपमा स्थापित संस्कृतप्रति नेपालीको मोह कम हुँदैगएको थियो । जर्मनी, बेलायत, अमेरिकालगायत धेरै देशमा पछिल्लो समय संस्कृत भाषाको अध्यापन गराउने क्रम बढ्न थालेको छ । प्रशिक्षक श्रीराम अधिकारी विश्वव्यापीरूपमा संस्कृतप्रतिको आकर्षण बढ्न थालेपछि ‘ए लेभल’ को पाठ्यक्रम गुरुकुलहरूमै शुरु गरिएको बताउनुहुन्छ । 

You can share this post!