हुम्लामा खानेपानिको समस्या बढ्दै


कठमाण्डौ ,३० पुस : सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ ।

त्यस क्षेत्रका स्थानीयले खानेपानी ल्याउन एक घण्टाको दूरीमा रहेको तल्लो उनापानीको खोलाबाट माथिल्लो उनापानी पु¥याउनुपर्ने बाध्यता रहेको छ । दिनभर एक जना खानेपानी ओसार्न घरमा नै बस्नुपर्ने हुन्छ ।

गत वर्ष सामुदायिक विकास कार्यक्रमले एक दिन टाढापर्ने स्याउले भन्ने स्थानबाट खानेपानीको निर्माण गरेको भए पनि वनस्पतीको पात र फोहरले मुहान थुनिने समस्याका कारण खानेपानीको आपूर्ति राम्रो नहुँदा यस्तो समस्या भोग्दै आएका छन ।

गाउँमा खानेपानीको धारा त बने पनि मुहानको ट्याङ्की छोप्न जालीलगायतका अन्य सामग्री नहुँदा रुखका पातले पाइपलाई बन्द गरिदिने समस्याले उपभोक्तालाई पानीको आपूर्तिमा समस्या भएको छ । जङ्गलको भिरालो बाटोमा पानीको मुहान सफा गर्न जाँदा वन्यजन्तुको डर हुने गरेको स्थानीयको भनाइ छ । एक्लै जान पनि समस्या छ, भिरको बाटोमा लडिने अनि हिँड्दा ढिलो भएमा घर नपुगिने अवस्थाले दुईदेखि तीन जनाको समूहमा पानीको मुहान सफा गर्न जाने र हरेक दिन मुहान सफा गर्न साह्रै कठिन भएको छ । हरेक दिन एक जना पानीको मुहान सफा गर्न मुहानतर्फ जानुपर्ने बाध्यता माथिल्लो उनापानीका बासिन्दाका लागि दिनचर्या नै बन्ने गरेको छ ।

खानेपानी नहुँदा पशुवस्तुलाई एक घण्टा लगाएर खानेपानी भएको खोलामा पु¥याएर ल्याउन अझ कठिन भएको छ । पशुवस्तुको चरन क्षेत्रबाट खोलामा पानी खुवाउन अझ समस्या छ । एक जनाले खानेपानी ओसार्ने अनी अर्कोले पशुवस्तुका लागि पानी खुवाउनुपर्ने अवस्था रहेको छ । गाउँपालिका र वडापालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै गुनासो नभएको स्थानीयको गुनासो छ । पानीको अभावले व्यक्तिगत सरसफाइमा पनि सङ्कोच अपनाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पानीलाई सुन जस्तै मानेर फारो गरेर चलाउनुपर्ने अवस्था छ ।

You can share this post!