एसीको प्रयोगले पृथ्वीको तापमान अझ बढाउँछ भन्ने रतनलाई राम्रोसँग थाहा पनि छैन । सन् २०५० सम्ममा भारतमा एसीको संख्या तीन करोडबाट एक अर्ब पुग्ने अनुमान गरिएको छ । विश्वकै दोस्रो बढी जनसंख्या भएको भारतमा कोठा चिस्याउन विद्युतीय एसीको प्रयोग गर्ने भारत पनि प्रमुख राष्ट्र हुनेछ ।
भारत अहिल्यै हरितगृह ग्यास उत्सर्जन गर्ने तेस्रो ठूलो राष्ट्र हो । भारतमा वर्षको करिब ८० करोड टन कोइला बालिन्छ । विज्ञहरुका अनुसार एसीका लागि विद्युतको बढ्दो माग पूरा गर्न विद्युत उत्पादनलाई तीन गुणा बढाउनु पर्नेछ ।
यथार्थमा गर्मीको मौसममा भौंतारिने करोडौं भारतीयलाई एसीमा बस्न पाउनु भगवानको कृपा नै हो ।
“गर्मीको मौसममा हाम्रो जीवन पीडादायी नै हुने गर्दछ,” महिनामा २२५ अमेरिकी डलर मात्र कमाउने ४८ वर्षीय कुमारले बताए । प्रचण्ड गर्मी हुने राजस्थानको बेहरोर नगरका निवासी उनले आफ्नो दुईकोठे घरमा यसैवर्ष एसी जडान गरेका छन् ।
“दिनभरी गर्मीमा काम गर्नुछ, फेरि राति पनि गर्मीले सुत्न सकिन्न,” दुई सन्तानका पिता कुमारले भने, “म धनी त होइन तर यो एसीले जीवनमा केही आराम भएको छ ।”
भारतमा चार महिने गर्मी मौसममा जीवन पीडादायी हुने गर्दछ । पछिल्ला वर्षहरुमा यहाँको तापमान बढ्दै गएको अनुभव गरिएको छ ।
सन् २०१६ मा पृथ्वीको सबैभन्दा बढी तातो भारतमै अनुभव गरिएको थियो । भारतीय शहर फालोदीमा त्यसवर्ष तापक्रम ५१ डिग्री सेल्सियससम्म पुगेको थियो । समग्र भारतमा पनि यो सबैभन्दा उच्च तापक्रम हो ।
गर्मी मौसममा सडकको अलकत्रा पग्लिन्छ र लाखौं मानिसको स्वास्थ्यमै जोखिम निम्त्याउँछ । सन् २०१५ मा प्रचण्ड गर्मी सहन नसकेर भारतमा झण्डै दुई हजार ५०० व्यक्तिको मृत्यु भएको थियो ।
हाल, भारतमा केबल पाँच प्रतिशत घरमा मात्र एसी जडान भएको छ । अमेरिकामा ९० प्रतिशत र चीनमा ६० प्रतिशत घरमा एसी छ । विगत ३० वर्षको अवधिमा एसी जडान ह्वात्तै बढेको हो ।
तर भारतमा पनि एसीको बजार तिब्र गतिमा विस्तार हुन थालेको छ । मानिसको आम्दानी बढेको र विद्युत आपूर्तिमा केही सहजता आएकोले दोहोरो अङ्कको गतिमा एसी खपत बढेको छ ।
“एसी जोड्नु अहिले विलासिता होइन, आवश्यकता हो,” जापानी उत्पादक कम्पनी डाइकिनका भारतीय प्रमुख कन्वाल जीत जावाले बताए । डाइकिनले राजस्थानको कारखानाबाट हरेक वर्ष १२ लाख एसी उत्पादन गरिरहेको छ । “एसीले उत्पादकत्व र औसत आयु दुवै बढाउँछ,” उनले भने ।
बिडम्बना के छ भने मानिसले चिसोमा बस्ने चाहना राख्दा एसीमा रहने चिस्यान यन्त्र र विद्युत उत्पादनका दुवै कार्यमा प्रयोग हुने यन्त्र चलाउन ठूलो परिमाणमा अन्य इन्धन चाहिन्छ, र त्यसले विश्वव्यापी तापमानलाई बढाउँछ ।
यसबाहेक, अध्ययनहरुले एसीभित्र जडान गरिने उपकरण आफैंले पनि शहरी क्षेत्रहरुमा तापक्रम बढाइरहेको देखाएका छन् । यी उपकरणले शहरमा एक वा त्यसभन्दा बढी डिग्री तापमान बढाउँछन् । विश्व स्वास्थ्य संगठन र युएन ह्वाबिट्याटले पनि यही तथ्यलाई पुष्टी गरेका छन् ।
एसीको माग बढ्दै गएकाले सन् २०५० सम्ममा विश्वभर एसीमा प्रयोग हुने विद्युतको परिमाण तीन गुणाले बढ्नेछ । अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार अमेरिका, युरोपेली युनियन र जापानको हालको विद्युत क्षमता बराबर नयाँ विद्युत उत्पादन आवश्यक पर्नेछ ।
भारतले हाल करिब दुई तिहाई विद्युत कोइला र ग्यासको प्रयोगबाट उत्पादन गर्दछ, र नवीकरणीय ऊर्जाको महत्वाकाँक्षी योजनाका बाबजूद अझै केही दशकसम्म परम्परागत इन्धन नै मुख्य स्रोत हुनेछ ।
आशाको एउटा सम्भावना के छ भने भारतले विद्युत कम खपत हुने एसीको उत्पादनमा जोड दिन सक्नेछ । डाइकिन जस्ता उत्पादकहरुले नयाँ प्रविधिलाई प्रबद्र्धन पनि गरिरहेका छन् । तर यी कम विद्युत खपत हुने एसी महङ्गा हुन्छन् र पहिल्यै एसी जडान गरिसकेकाहरुले नयाँ तत्कालै खरिद गर्दैनन् । भारतमा नयाँ किन्नेभन्दा मर्मत गरेर चलाउने चलन बढी छ ।
जुनमा भारत सरकारले एसी खोल्नासाथ २४ डिग्री सेल्सियसमा राख्नेगरी प्रबन्ध गर्न एसी उत्पादकहरुलाई परामर्श दिएको छ । यो कार्यबाट अर्बौं युनिट बिजुली बचत हुने र उत्सर्जन पनि घट्ने सरकारको विश्वास छ । तर अहिले नै यो व्यवस्था बाध्यकारी होइन ।
पोल्यान्डमा जलवायुसम्बन्धी कोप२४ को विश्व सम्मेलन भइरहेको छ । बेहरोरले एसी खरिद गरेको पसलका सञ्चालक राम विलास यादव भन्छन्, उनका ग्राहकलाई विश्वको तापमानभन्दा बढी चिन्ता छ, र त्यो हो गर्मी । “मानिसहरु आफ्ना घरभित्र चिसो बनाउन चाहन्छन्,” यादव भन्छन्, “यसै वर्षमात्र मैले ३०० वटा एसी बेचिसकें ।” उनको भनाइमा हरेक वर्ष एसीको बिक्री व्यापक बढेर १५० प्रतिशत पुगेको छ ।
यादवले गर्मीबाट बच्ने परम्परागत विधि छाडेर गाउँघरमा पनि मानिसहरु एसी जडान गर्न लागिपरेको बताए । उत्पादकहरुको व्यापक मार्केटिङले पनि एसी जडान गर्न मानिसलाई उत्प्रेरित गरिरहेको छ ।
“वैज्ञानिकहरुले गर्मी बढ्यो भन्दैछन् तर अहिलेलाई मैले आरामसँग सुत्न पाएको छु,” कुमार भन्छन् । रासस/एएफपी