स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

काठमाडौँ, ३० कात्तिक  ः चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।

गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो ।

पहिलो चरणको खेल सकिँदासम्म मनाङमस्र्याङ्दी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन÷तीन अङ्क जोडेका छन् भने त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक÷एक अङ्क जोडेका छन् । त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज हार बेहोर्दै अङ्कविहीन छन् ।

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

मङसिर ३ गते जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ । सोही दिन सरस्वती क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि शुरु हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचाँै टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । ‘फेयरप्ले’ टिमले रु एक लाख पाउनेछन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई रु १० हजार दिनेछन् ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुनलागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

You can share this post!