बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायतको भिषा लागेको राहदानी पृष्ठ भिषा प्रक्रिया गर्ने कम्पनीकाे लापरवाहीका कारण च्यातिएको छ।

 

नेपालमा वेलायतसहित अधिकांश युराेपेली मुलुकहरूकाे भिषा प्रक्रियाकाे जिम्मा ललितपुर महालक्ष्मीस्थानस्थित भिएफएस ग्लाेबल नेपालले लिएकाे छ। मन्त्री अधिकारीले सहयोगीमार्फत् त्यहीँबाट भिषा आवदेन गरेका थिए।

‘उहाँले वेलायतको भिषा आवेदन गर्नुभएको थियो। भिषा लागेर आएको पनि छ’, मन्त्री अधिकारीको सचिवालय सदस्य कृष्ण आचार्यले नेपालखबरसँग भने, ‘तर भिषा लागेको पेजमा फल्ट छ। त्यसमा यात्रा गर्न मिल्दैन। ’

लन्डन यात्रा रद्द
मन्त्री अधिकारी नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा सहभागी हुन भिषा अावेदन गरेका थिए। पर्यटन व्यवसायी र मन्त्रालयका बरिष्ठ अधिकारीसहित ३१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लन्डन जाँदै थिए।

‘नयाँ भिषा लिन थप एक दुई दिन बढी लाग्नेरहेछ’, आचार्यले नेपालखबरसँग भने, ‘त्यही भएर उहाँको लन्डनको यात्रा रद्द भएको छ।’

कार्यक्रममा सहभागी हुन ५ नाेभेम्बरमा लन्डन पुगिसक्नुपर्ने मन्त्री अधिकारीकाे राहदानी १ नोभेम्बर अर्थात बिहीबारसम्म फिर्ता नदिर्इ राेकिएकाे थियो। सँगै अावेदन गर्नेहरू अन्य कर्मचारीको भिषा लागेकाे राहदानी पहिलै फिर्ता दिइएकाे थियो। बिहीबारसम्म राहदानी नदिएपछि शुक्रबार कार्यालय खुल्नासाथ मन्त्रीका सहयोगी पाटन महालक्ष्मीस्थानस्थित भिएफएस ग्लोबल नेपालको कार्यालय पुगेका थिए।

च्यातिएकाे भिषा स्टिकर र कट्टी गरिएकाे भिषा पृष्ठ

कसरी च्यातियो भिषा स्टिकर?
सहयाेगीबाट राहदानी हात परेपछि मन्त्री अधिकारीले भिषा स्टिकर टाँसेपछि च्यातिएकाे र भिषा पृष्ठ कट्टी भएकाे थाहा पाएका थिए। च्यातिएकाे भिषा स्टिकरलार्इ टाँसिएकाे देखिन्छ। त्यसपछि भिषालाई रद्द गर्ने संकेतस्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ।

भिएफएस नेपालले राहदानीसहित सम्बन्धित कागजात संकलन गर्ने, भिषा फारम प्रक्रिया अघि बढाउने, बायोमेटिक, औँठाछाप लिने एवं भिषा शुल्क संकलन गर्ने काम गर्छ। भिषा दिने नदिने निर्णय भने दूतावासमै निहित हुन्छ। नोभेम्बर १ मा मन्त्री अधिकारीको भिषा जारी भएको देखिन्छ। जारी भइसकेपछि भिषा स्टिकर च्यात्ने र पछि भिषा कट्टी गरिएको छ। ‘सी भिजिट’ उल्लेख भएकाे मल्टिपल इन्ट्री भिषा सन् २०१९ मे १ तारिकसम्म बहाल रहने उल्लेख छ।

भिएसएफद्वारा गल्ती स्वीकार

पर्यटनमन्त्री अधिकारीकाे जारी भइसकेकाे भिषा स्टिकर च्यात्ने एवं कट्टी गर्ने कार्यमा संलग्न भिएफएस ग्लाेबल नेपालले गल्ती स्वीकार गरेकाे छ। घटनाकाे जानकारी पाएपछि शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएकाे प्रहरीकाे एउटा टाेलीले भिएफएस अधिकारीसँग साेधपुछ गरेकाे थियाे। सुरूमा अाफू जिम्मेवार नरहेकाे भन्दै पन्छिएका उनीहरू प्रहरी केरकारपछि गल्ती स्वीकारेका थिए। ‘भिषा टाँस्ने बेलामा गल्ती भएकाे र त्यसपछि भिषा पृष्ठ कट्टी गरिएकाे’ भिएफएसले स्वीकारेकाे ललितपुर प्ररहरीले जनाएकाे छ।

‘भिषा अावेदन गराउने कम्पनी भिएफएसले भिषामा राताे चिन्हले कट्टी हामीले गरेका हाैं भनेर स्वीकारेकाे छ’, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्र धानुकले नेपालखबरसँग भने, ‘प्रहरीले साेधपुछ गर्दा भिषा मगाइदिन्छाैं भन्नुभएकाे छ। प्रहरीले कसैलार्इ नियन्त्रणमा लिएकाे छैन।’

प्रकाशित १७ कार्तिक २०७५, शनिबार |(Nepalkhabar.com)

You can share this post!