फोनमा रहेका एप्सले गर्छन् प्रयोगकर्ताको जासुसी

के तपाइँलाई थाहा छ ? तपाइँले आफ्नो फोनमा गरिरहेको कुराकानी तपाइँलाई थाहै नदिइ तेश्रो पक्षले गुपचुप सुनिरहेको हुन्छ । लक्षित विज्ञापनका लागि तपाइँको फोनमा रहेका एप्सले तपाइँको जासुसी गरिरहेका हुन्छन् ।

नर्थइस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले एक वर्ष लगाएर गरेको अध्ययनले यस्तो भयानक तथ्यको खुलासा भएको हो ।

शोधकर्ताहरुले १७ हजार भन्दा धेरै लोकप्रिय एन्ड्रोइड एप्सको क्रियाकलाप अध्ययन गरेका थिए । त्यसक्रममा कतिपय एपले प्रयोगकर्ताको फोनकल रेकर्ड गर्नका लागि स्मार्टफोनको माइक्रोफोनसम्म पहुँच स्थापित गर्ने गरेको पाइएको छ । त्यस्तै कतिपय एप्सले फोनको स्क्रिन रेकर्ड गरिरहेका हुन्छन् ।

शोधकर्ताहरुले भनेका छन्, ‘हामीले देख्यौँ की धेरै एपहरुले मोबाइल स्क्रिन तथा क्यामराबाट रेकर्ड गरिएका सामाग्रीहरुलाई इन्टरनेटमा लिक गरिदिन्छन् ।’ शोधकर्ता भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा त के भने थर्ड पार्टी लाइब्रेरी एपमा प्रयोगकर्ताको फोनकलको भिडियो नै रेकर्ड गरिन्छ यसमा प्रयोगकर्ताको अनुमति विना नै कहिलेकाहीँ महत्वपूर्ण कुराकानीहरुसमेत रेकर्ड गरिएको पाइएको छ ।’

कतिपय एप्सले प्रयोगकर्ताका तस्वीर तथा अन्य मिडिया फाइलहरुलाई प्रयोगकर्तालाई जानकारी नै नदिईकन इन्टरनेटमा शेयर गरिदिने गरेका छन् । यस विषयमा गुगलको एन्ड्रोइड प्राइभेसी टिम तथा एप डेभलपर्सलाई जानकारी गराइएको शोधकर्ताहरुले जनाएका छन् । एजेन्सी

You can share this post!