‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन् ।

http://himalkhabar.com/tinymce/file_manager/source/dev/pminsainikcadetpassout.jpg?1554972063103

बिहीबार भक्तपुरको खरिपाटीमा भएको सैनिक अधिकृतहरुको दीक्षान्त समारोहमा दीक्षित सैनिकसँग प्रधानमन्त्री केपी शर्मा ओली लगायत। तस्वीर : प्रधानमन्त्रीको सचिवालय\रासस

स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा बिहीबार भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हाम्रो सेनालाई २१ आँ‌ शताब्दीको आधुनिक सेनाका रूपमा विकास गर्दै लैजान जरुरी रहेकामा जोड दिए ।

उनले भने, “देश र जनताको सुरक्षा मामिलामा सम्भावित खतराको पूर्वानुमान गरी राष्ट्रिय चुनौतीको सही आँकलन गरेर जटिल सुरक्षा खतराबाट नेपाललाई सुरक्षित राख्न सक्ने नेतृत्व वर्गको आजको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौँ नायकको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताए ।

उनले राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पार्दै भने, “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित संगठनका रूपमा स्थापित गर्दै आएको छ ।

आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्य, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।”

उनले नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त भएका आयुक्तमा कमाण्डरका रूपमा नयाँ जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ भएर निर्वाह गर्ने विश्वास लिइएको बताए ।

नेपाली सेनाले पनि शुरु गरेको प्रविधिमा आधुनिकीकरणतर्फको पहलकदमीले प्रविधिमैत्री वातावरण बन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेटतर्फ नौ महिला र केन्या तथा माल्दिभ्सका दुई सहित ६६ एवं सिसं ४७ पदिक हुद्दा क्याडेटतर्फ ११ जना गरी कूल ७७ क्याडेट तालीमका आयुक्तलाई बधाई ज्ञापन गरे ।

तालीममा प्रथम हुने सञ्जोग कार्की, जुनियरतर्फ धनहरि राई, उत्कृष्ट महिलातर्फ संगीता अधिकारी र विदेशीतर्फ माल्दिभ्सका हिसान एरिसलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरे ।

अहिलेसम्म नेपालले विभिन्न राष्ट्रका १३ विदेशीलाई यो तालीम प्रदान गरेको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालगायत उच्चपदस्थ अधिकारी एवं सुरक्षा निकायका उच्च तहका व्यक्तित्वको सहभागिता थियो । स्रोतः हिमालखबर

You can share this post!