युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, ३ मङ्सिर (रासस) : एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ ।

अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड जस्टिस र काठमाडौँस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित उक्त शैक्षिक सत्र गत जनवरीमा काठमाडौँमा शुरु भएर आज जनकपुरमा सम्पन्न भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यस शैक्षिक सत्रको शुभारम्भ राजधानी काठमाडौँमा भएको थियो भने तीन–तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो कार्यक्रम हिमाली क्षेत्र (दोलखा)मा, तेस्रो कार्यक्रम पहाडी क्षेत्र (कास्कीको चिसापानी)मा र चौथो कार्यक्रम तथा दिक्षान्त समारोह (ग्राजुएसन) तराई क्षेत्र प्रदेश नं. २ को जनकपुरमा सम्पन्न भएको दूतावासले जनाएको छ ।

यस कार्यक्रममा देशका सात प्रदेशबाट २१ जना युवा नेताहरु सहभागी थिए । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधि, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यसमा छनोट हुनुभएको छ । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।

नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारीरुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्ने बताइएको छ ।

“कार्यक्रमले पहाड–हिमाल–तराई, विविध जातजाति, भिन्न राजनीतिक मूल्यमान्यता बोकेका युवा नेता/नेतृको एक यस्तो ठोस संयन्त्रको निर्माण गर्दैछ, जसले ती समस्याको समाधान सामूहिक प्रयासबाट गर्नेछ । यस कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेता/नेतृहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गर्नेछ”दूतावासद्वारा जारी जिज्ञप्तिमा जनाइएको छ ।

You can share this post!