नेपाल एयरलाइन्सको काठमाडौं-ओसाका सिधा उडान असार १९ देखि

नेपाल एयरलाइन्सले काठमाडौं -जापान सिधा उडन अनुमति पाएको छ। एयरलाइन्सलाई जापानको नागरिक उड्डयन संस्थाले उडान अनुमति (एओसी) दिएसँगै एयरलाइन्सले उडानका तयारी शुरु गरेको छ। 

एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका हप्तामा तीन सिधा उडान गर्ने बताएको छ। असार १९ देखि उडान शुरु हुने एयरलाइन्सले जानकारी दिएको छ।

नेपाल एयरलाइन्सले पेस गरेको भाडादर पनि स्वीकृत भइसकेको छ। 

एयरलाइन्सले लामो गन्तव्यमा उडाने भन्दै ल्याएको वाइडबडीले गन्तव्य नापाउँदा छोटो दुरीकै गन्तव्यमा आधा क्षमतामा उडिरहेका छन्।

जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरिदिएको छ भने साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। पछिल्लो समय एयरलाइन्सले जापानसँगै चीनमा पनि प्रक्रिया अघि बढाएको थियो।

जापानको नारितामा सिधा उडान गर्ने भनिए पनि एकाएक एयरलाइन्सले ओसाका उडानको प्रक्रिया अघि बढाएको थियो। राजधानी सहर टोकियो भन्दा निकै टाढा भएकाले ओसाका व्यावासायिकरुपमा सफल हुनेमा प्रश्न उठाइएको छ।

नेपाल एयरलाइन्सले १३ वर्षदेखिको उडान सन् २००७ मा जाापन उडान बन्द गरेको थियो। चीनको सांघाइबाट ओसाकाको कन्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो। त्यसपछि जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क नहुँदा भाडा महंगोमात्र होइन यात्रा पनि झन्झटिलो भएको भन्दै गुनासो आउने गरेको छ।

सिधा हवाइ सम्पर्क टुटेपछि जापानबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ओरालो लागिरहेको छ।

नेपाल जापान बीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन्।

सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ। नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।

नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। सम्झौता भएपनि कतिपय देशहरूले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन्। भारतले हिमालय एयरलाइन्सलाई लामो समयदेखि नयाँ दिल्ली उड्न दिएको छैन। त्यस्तै चीनले नेपाल एयरलाइन्सलाई दिएको छैन।

स्रोत: सेतोपाटी डटकम

You can share this post!